मन्त्रीमण्डल हेरफेर गर्ने तयारी, ओली–प्रचण्डबीच छलफल

काठमाण्डौं, फागुन २८ ।
मन्त्रीमण्डल हेरफेर गर्ने तयारी गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल पुनगठन गर्नेबारे मंगलबार बिहान प्रधानमन्त्रीसँग आफ्नो छलफल भएको बताएका छन् ।

विराटनगर पुगेका दाहालले पत्रकारसँगको कुराकानीमा मन्त्रीमण्डल पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीसँग रहेको पनि बताए । ‘साँचो कुरा के हो भने आज बिहानमात्रै प्रधानमन्त्रीसँग मन्त्रीमण्डल पुनर्गठनबारे छलफल भएको हो,’ अध्यक्ष दाहालले भने, ‘बालुवाटारबाट सिधै म विराटनगर आएको हुँ । मन्त्रीले काम गरेरनगरेको मूल्यांकन गर्ने र मन्त्रीमण्डल पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्रीलाई छ ।’

मन्त्रीमण्डल पुनर्गठन गर्ने या नगर्ने भन्ने निर्णय प्रधानमन्त्रीले लिने दाहालले बताए । ‘मन्त्री हेरफेर गर्ने कि नगर्ने भन्ने प्रधानमन्त्रीले कसरी हिसाव गर्नुभएको छ त्यसमा भर पर्छ,’ उनले भने, ‘प्रधानमन्त्रीको भनाइ के छ भने मन्त्रीहरुको काम हेरिराख्या छु । फेरफेर गर्नुपरे पनि अहिले हतार छैन ।’ मन्त्री हेरफेर गर्नुपरे निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई नै भएको आफूले बताएको दाहालले सुनाए ।