मन्त्रिपरिषद् हेरफेर प्रधानमन्त्रीको अधिकार : मन्त्री बस्नेत
बुलबुले, कार्तिक २ ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको अधिकार भएको बताएका छन् ।
सुर्खेत विमानस्थलमा प्रेस संगठन सुर्खेतले शनिबार गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले मन्त्रिपरिषद् कस्तो बनाउने र मन्त्रीहरु हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीकै भएको बताएका हुन् ।
‘मन्त्रिपरिषद् परिवर्तन गर्ने कुरा प्रधानमन्त्रीको कुरा हो । उहाँको सहजताका लागि हो । उहाँले केही हेरफेर गर्न सक्नुहुन्छ’–उनले भने ।
पत्रकारको प्रश्नमा मन्त्री बस्नेतले मन्त्री परिवर्तनको विषय नयाँ नभएको र बाहिर आएजस्तो गरी मन्त्रिपरिषद् हेरफेरको चर्चा नभएको स्पस्ट पारे ।
मन्त्री बस्नेतले कर्णाली प्रदेशलाई विकासको राष्ट्रिय मूलप्रवाहमा सहभागी गराउने बताए ।
कर्णालीको विकासमा सबैको भूमिका आवश्यक भएको भन्दै मन्त्री बस्नेतले यो वर्ष आर्थिक, सामाजिक विकासको वर्ष हुने बताए ।
आर्थिक विकास र संरचना निर्माण सरकारको पहिलो प्राथामिकता भएकाले अब सबैतिर विकासले गति लिने बताए ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माण गरिने प्रादेशिक विमानस्थल जमिनको कारण नरोकिने भन्दै यसको काम छिट्टै सन्चालन हुने उनले जानकारी दिए ।
सरकारले बाढीपीडितको समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै मन्त्री बस्नेतले बाढीपीडितको समस्या समधान हुने विश्वास व्यक्त गरे । (रासस)