मध्येरातमा अदालत परिसरबाटै प्रहरीले फेरि पक्रियो विप्लवका कार्यकता

पोखरा, जेठ ३१ ।
अघिल्लो शनिबार कास्कीको घान्द्रुकबाट पक्राउ परेका नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता तथा कार्यकर्तालाई विहिबार उच्च अदालत पोखराले छोड्न आदेश दियो । थुनामुक्त गर्ने आदेश दिएको ५ घण्टा नवित्दै अदालत परिसरबाटै प्रहरीले उनीहरुलाई पुनः पक्राउ गरेको छ । पक्राउ परेका मध्ये ९ जनालाई राज्य विरुद्धको कसुरमा जिल्ला अदालतले म्याद थपेको थियो । तर आरोपीका आफन्तले गैह्रकानुनी रुपमा पक्राउ गरेर थुनेको भन्दै बन्दी प्रत्यक्षिकरणको रिट हालेका थिए ।

रिटमाथी विहिबार बहस गरेपछि अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । बिहीबार निवेदकतर्फबाट रोहितराज बास्तोला, नारायणप्रसाद पौडेल, सन्तोष कोईराला, मिना रानाभाट, हिमलाल पराजुली र डिल्लीराम अधिकारीले निवेदकको पक्षमा र नरेन्द्र बहादुर चन्दले बहस गरेका थिए । बहसपछि आदेश जारी गर्दै अदालतले तुरुन्तै थुनामुक्त गर्न आदेश दिएको हो ।

अदालतको आदेश पछि प्रहरीले पुनः उनीहरुलाई पक्रिएको छ । उनीहरुलाई उच्च अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाको रोहवरमा बिहिबार नै थुनामुक्त गर्न अदालतले आदेश दिएको थियो । यद्यपी अदालत परिसरबाटै प्रहरीले ९ जनालाई नै पक्राउ गरेको छ ।

प्रहरीले पक्रिने थाहा पाएपछि उनीहरु नजिकै रहेको उच्च अदालत बार एशोसियनको भवनभित्र बसेका थिए । अदालतले फैसला नगर्दै अदालत परिसरभित्र दर्जनौँ सिभिल प्रहरी र अदालतको गेट बाहिर भ्यानसहित अन्य प्रहरीपनि तैनाथ राखिएको थियो । अन्ततः मध्येरातमा प्रहरीले ९ जनालाई नै पक्रेर डाँडाको नाक पु¥याएको छ ।

पक्राउ पर्नेमा जंगबहादुर भण्डारी, मिलन राई, काजी गुरुङ, सन्तोष परियार, प्रकाश बास्तोला, आस्था नेपाली, सुजन सापकोटा, राजन साउद र गगन परियार छन् । शनिबार पक्राउ परेका मध्ये बाँकी ९ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक मुद्धामा म्याद थप गरिएको छ । वसन्त अर्याल, देवी गुरुङ, बलराम परियार, प्रतिमा भण्डारी, सुनिता परियार, प्रमोद सिंह, दीपेन्द्र बुढा, रविन पौडेल र दीपेन्द्र परियारलाई सार्वजनिक मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुले प्रहरीले मानवअधिकार विपरित काम गरेको प्रतिक्रिया दिए । अदालतले नै निर्दोष सावित गरेको ब्यक्तिलाई प्रहरीले धरपकड गरेको गुनासो गरेका छन् । मध्येराती करिब १२ बजेतिर प्रहरीले बारको अफिसबाट उनीहरुलाई निकालेर लेखनाथ स्थित डाँडाको नाक प्रहरी चौकी पु¥याएको हो । यसबारे प्रहरी चाहीँ बोल्न चाहेन ।