मध्यरातमा ठडियो पोखराको पृथ्वीचोकमा लखन थापाको पूर्ण कदको शालिक

पोखरा, माघ २९ ।
पोखराको पृथ्वीचोकमा लखन थापाको पूर्ण कदको शालिक ठड्याईएको छ । यसअघि पनि त्यहाँ पूर्णकदकै शालिक थियो । पोखरा महानगरपालिकाले आईल्याण्ड हटाउने अभियान अन्तर्गत अघिल्लो बर्ष शालिक भत्कायो ।

पछि केही जातिय समुदायको विरोध र आन्दोलनका कारण त्यहाँ अर्धकदको शालिक राखियो । त्यतिबेला १८ लाख रुपैयाँ खर्च भएको थियो । अहिले पुनः सोही ठाउँमा पूर्ण कदकै शालिक राखिएको हो ।

पोखरा महानगरपालिकाले नगरक्षेत्रभित्र रहेका सबै शालिकहरुलाई पार्कमा लगेर सुरक्षित राख्ने अभियान चलाएको थियो । तर अहिले एकाएक शालिकहरु पूरानै ठाउँमा ठड्याईएका छन् ।

केही समयअघि अमरसिंह चोकमा रहेको अमरसिंह थापाको शालिक पनि पूरानै अवस्थामा ठड्याईएको थियो । तर जीरो किलोमिटरमा रहेको योगेन्द्रमान शेरचनको शालिक चाहीँ त्यहाँबाट विस्थापन गरिएको छ ।

महानगरले अहिलेसम्म पृथ्वीचोक, अमरसिंहचोक, विरौटाचोक, मुस्ताङचोक, हरिचोक लगायतका ठाउँमा आईल्याण्ड घटाएको छ । त्यहाँ रहेका सबै शालिकलाई पार्कमा ब्यवस्थित गर्ने महानगरको योजना भने तुहिएको छ । जनयुद्धताका पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक तत्कालीन वाईसिएलले तोडिदिएका थिए । शालिक तोडिएपनि हालसम्म पृथ्वीचोकको नाम जनजिब्रोबाट निस्किएको छैन ।

लखन थापालाई नेपालकै प्रथम शहीदको रुपमा सरकारले पनि मान्यता दिईसकेको छ । गोरखा काउले भंगाराका थापाले तत्कालीन राणाशासन विरुद्ध आवाज उठाउँदा शहादत प्राप्त गरेका थिए ।