मंसिर १४ गते उपनिर्वाचन गर्ने सरकारको निर्णय, रवीन्द्रको क्षेत्रमा को उठ्ला ?

पोखरा, साउन १७ ।
सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५० स्थानका लागि आगामी १४ मंसिरमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त पदमा आगामी १४ मंसिरमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

यसअघि बिहीबार मध्याह्न निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका ५० स्थानमा १४ मंसिरमा उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । आयोगको सो सुझावअनुसार नै सरकारले १४ मंसिरका लागि मिति तोकेको हो ।

बिहीवार प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका र कानुनअनुसार निर्वाचन आयोगमा दर्ता भएका १८ वटा राजनीतिक दलसँग उपनिर्वाचनबारे आयोगले परामर्श गरेको थियो । दलहरूसँगको परामर्शपछि आयोगको टोलीले सरकारलाई उपनिर्वाचन गर्न सकिने सम्भावित मितिबारे बिहीबार नै सुझाएको आयोग स्रोतले जानकारी दिएको हो ।

कानूनअनुसार स्थानीय तहको निर्वाचनको मिति आयोगको परामर्शमा सरकारले तोक्ने व्यवस्था छ । आयोगले सोही व्यवस्थाबमोजिम नै निर्वाचनबारे सरकारलाई सुझाएको हो । चुनावको मिति सिफारिस भएसँगै कास्कीमा चुनावी चहलपहल पनि बढ्न थालेको छ ।

पहिलेदेखि नै लविङ भैरहेपनि मिति घोषणा भएपछि सम्भावित उम्मेदवारहरु बढी नै चलमलाउन थालेका छन् । ंंंंंगएको फागुन १५ गतेको हेलिकोप्टर दुर्घटनामा परी उनको मृत्यु भएपछि त्यो ठाउँमा जनप्रतिनिधि खाली थिए ।

उनको ठाउँमा नेकपाले उनकै धर्मपत्नीलाई चुनावको उम्मेदवार बनाउने चर्चा थियो । तर अहिले त्यो चर्चा सेलाएर अरु उम्मेदवारको नाम बढी आउन थालेको छ । कास्की क्षेत्र नम्बर २ बाट पूराना नेता सोमनाथ अधिकारी प्यासी वा बामदेव गौतम चुनाव लड्ने सम्भावना बुझिएको छ । यद्यपी अहिलेसम्म कुनै विशेष नाम भने आएको छैन ।

नेपाली काँग्रेसबाट पनि यसअघि अधिकारीसँगै पराजीत देवराज चालिसे उम्मेदवार बन्ने सम्भावना छ । अहिले उनीसँगै बीरेन्द्रनारायण विजुक्छेको नाम पनि अगाडी छ । अरु पार्टीको चर्चा अहिले सुनिएको छैन ।