भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने प्रधानमन्त्रीलाई गगनको सुझाव–‘घरमा गएर ऐना नहेर्नु’

पोखरा, माघ २१ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगन थापाले प्रधानमन्त्री नै भ्रष्टाचारमा फसेको आरोप लगाएका छन् । नेपाली काँग्रेस कास्कीले पोखरामा आयोजना गरेको सरकार विरोधी प्रदर्शनलाई सम्बोधन गर्दै उनले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुवेको आरोप लगाए । ‘प्रधानमन्त्री ज्यू भ्रष्टाचारीको अनुहार पनि हेर्दिन भन्नुहुन्थ्यो । त्यसो हो भने घरमा गएर ऐना नहेर्नुस्–थापाले भने ।’ उनले प्रधानमन्त्रीका वरिपरि सबै भ्रष्टाचारी भएको बताए ।

थापाले सरकार र प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् । सरकारले गर्छु भनेका र गरिरहेका काम अलोकतान्त्रिक, अधिनायकवाद र भ्रस्टाचारबाट ग्रसित भएको उनको दाबी छ । सरकार जनमतलाई छोडेर माफियाको पछि लागेको बताए । दुईवटा पार्टीबीचको एकता लाज र डरले बनेको भन्दै उनले दुवै पार्टीले राम्रा कुरा छोडेर नराम्रोलाई साथ लिएको बताए । ‘केपी ओलीलाई प्रधानमन्त्री बन्ने लोभ र प्रचण्डलाई हार्छु भन्ने डरले पार्टी एकता भयो, उनले भने–एक जना घ्यू बेचुवा, अर्को तरबार बेचुवा मिलेर बनेको पार्टीले केही गर्लां भनेर सोच्नु नै गल्ती भयो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशमा कति सरकार छन् भन्ने हेक्का समेत नभएको आरोप लगाउँदै थापाले प्रधानमन्त्री नै संघीयता भत्काउने बाटोमा लागेको टिप्पणी गरे । ‘चित्रबहादुर केसीलाई संघीयता विरोधी भन्छन् । तर वहाँ चुनाव लड्दै गर्दा पनि संघीयता चाहिँदैन भनेर भोट माग्नुभयो, उनले अघि थपे–प्रधानमन्त्री ज्यूले त ढाँट्नुभयो । संघीयता मास्नका निम्ती आजको दिनमा कोही उद्दत छ भने केपी ओली हुनुहुन्छ ।’

नेकपाले संसदलाई एउटा मन्त्रालयजस्तो ठानेको उनको तर्क छ । ‘प्राथमिकता विहिन भएको सरकार छ । संघीयता मन नपराउने प्रधानमन्त्री हुनुहुन्छ । लोकतन्त्र नभए ड्याम ड्याम विकास गरौंला भन्ने वहाँको को पाईलट हुनुहुन्छ । गणतन्त्र मन नपराउने राष्ट्रपति हुनुहुन्छ । संसद मन नपराउने सभामुख हुनुहुन्छ, उनी भन्छन्–जसलाई जे जिम्मेवारी छ त्यही संस्था मन पराउँदैनन् । यसरी संघीयता चल्छ अनि ?’ थापाले जिम्मेवार भएर आफ्नो दायित्व पूरा गर्न र तथ्य र प्रमाण सहित सरकारको असफलता जनतालाई बुझाउन लाग्नुपर्ने बताए ।