भूकम्पपीडित गाउँबाट हावाहुरी पीडितलाई सहयोग, जनप्रतिनिधि र कर्मचारीले पठाए आफ्नै तलव

पोखरा, चैत २४ ।
२०७२ सालको भूकम्प भन्ने वित्तिकै गोरखाको सम्झना आउँछ । गोरखाको बारपाक इपिसेण्टर बनाएर भूकम्प गएपछि नेपालका आधा भन्दा बढी जिल्ला थिलथिलो भए । त्यसको असर गोरखामा निकै धेरै थियो ।

हजारौंका घर क्षतविक्षत बने । हजारौं मान्छेको मृत्यु भयो । भूकम्पको पीडा अहिले पनि उस्तै छ, गोरखामा । भूकम्पको पीडा नसकिँदै देशमा अर्को वित्याँस थपियो, तराईको हावा हुण्डरी । यो विपद्मा भूकम्पले थिलथिलो भएको गोरखाको शहीद लखन गाउँपालिकाले पनि सहयोग पठाएको छ ।

गाउँ कार्यपालिकाको बैठक बसेरै जनप्रतिनिधि र कर्मचारीले आफ्नो तलव काटेर हुरी पीडितलाई सहयोग गर्ने निर्णय गरेका हुन् । गाउँपालिका अध्यक्ष रमेश थापाका अनुसार जनप्रतिनिधिले ३ दिनको तलव र कर्मचारीले १ दिनको तलव हुरी पीडितलाई सहयोग गर्ने निर्णय भएको छ ।

गत साता हावाहुरीका कारण बाराको फेटा गाउँपालिका र पर्साको पर्सौनी गाउँपालिकामा ठूलो जनधनको क्षति भएको थियो । बर्षायामको पूर्वसन्ध्यामा हावाहरीका कारण क्षति भएपछि आवास समेत गुमाएका कारण राहात र उद्धारका लागि सहयोग गर्ने निर्णय गरेको उनले सुनाए ।