‘भिजुअल आर्टलाई आर्ट नै मान्दैनथे’
पोखरा, पुस ११ ।
भिजुअल आर्टबाट अन्तराष्ट्रिय पहिचान बनाउन सफल अस्मिना रञ्जित नेपाली समाज, राजनीति र प्रकृतिको कलात्मक रुपमा प्रश्तुत गर्छिन् । स्वतन्त्र जीवन जिउन मन पराउने उनी विशेष गरी महिला अधिकारको पक्ष लिन्छिन् । केही कलाहरु जीवनसँग मेल नखाने गरि बनाईने कुरालाई उल्लेख गर्दै उनले कला र जीवनलाई छुट्याउन नमिल्ने बताउँछिन् । उनै अस्मिना पोखरामा भएको लिटरेचर फेष्टिभलमा देखिईन् र कलाबारे बहस पनि गरिन् । मञ्जुश्री थापासँग गरिएको कुराकानीमा आधारित अस्मिनाका बिचारहरु–
मेरो बुबा पोखराको हुनुहुन्छ । आमा चाहीँ काठमाण्डौंको हुनुहुन्छ । सानैदेखि मलाई पोखरा हाम्रो घर भनेपछि मलाई पनि पोखरा मेरो घर भन्ने अहिले पनि लाग्छ । मेरो बुबा कलाकार हुनुहुन्छ, कृष्णगोपाल रञ्जित ।
मैले चाहीँ आर्टिस्ट बन्छु भन्ने सोच्थिनँ । घर र घर बाहिर पनि छोरा र छोरी मान्छेबीच हुने विभेद देख्दा मलाई मन पर्दैनथ्यो । मलाई ठूलो स्वरले हाँस्नु हुँदैन भनेर सिकाउनुहुन्थ्यो । छोरीको कर्म हारेको कर्म भन्नुहुन्थ्यो दाजुहरुले । मलाई त्यो सुनेर निकै रिस उठ्थ्यो । ठूलो भएपछि जे नगर भनेका छौ त्यही गर्छु भनेर उनीहरुलाई भन्थें म ।
पाईलट बन्छु भनेर म हुर्केको । पछि गएर मैले चाहेको उडान भनेको फिजिकल होईन, स्वतन्त्र भएर उड्न चाहान्छु । मैले चाहेको जीन्दगी जिउन चाहान्छु भन्ने लाग्यो । त्यसपछि म आर्टमा लागें ।
बुबा नै आर्टिस्ट भएकोले म आर्ट पढ्न जान्छु भनें । बुबाले लगेर स्कुलमा भर्ना गराईदिनुभयो । तर मैले आर्टबाट केही गरेर खान्न भन्ने बुबालाई लाग्थ्यो । म चाहीँ लागेपछि अरु सोच्दै सोच्थिनँ । १९८७ तिर होला यो कुरा ।
उबेला धेरैजसो आर्टिस्ट हरु इण्डियाबाट पढेर आउनुभएको थियो । मलाई मनोजबाबुले धेरै प्रेरणा दिनुहुन्थ्यो । कन्सेप्ट चाहीँ केही नेपालबाटै सिकें, केही अष्ट्रेलियामा सिकें । उतातिर क्रियटिभिटीलाई जोड दिन्थे । दुईवटै कन्सेप्ट जोडिँदा मलाई फाईदा भयो ।
मैले अहिले बनाईरहेको आर्ट पनि आर्ट होईन भन्नेहरु धेरै छन् । महिला भनेर नै होला पञ्छाउने काम भएको हो । महिलाको सेलिब्रेसनमा मेरो बडी कहिले पनि छुन नहुने वा म तल्लो भनेर होईन मैले मेरो बडीलाई सेलिब्रेट गरेर बाँच्नुपर्छ । अनि देशको परिस्थिती, नागरिकको कर्तब्य पनि मेरो कलामा जोडिएको छ ।
मलाई सिनियरले सँधै भन्नुहुन्थ्यो–‘सबै कुरा गर्ने तर पेण्टिङमा आईमाईको कुरा चाहीँ नगर्ने है ।’ अनि म छक्क पर्थें । यो कसरी सम्भव छ ? म महिला भएर महिलाको बिषय आर्ट नगर्ने हुँदैनथ्यो । उनीहरुले भनेपनि मैले गर्न छोडिन ।
अनि अर्को कुरा आर्टिस्ट भनेको अलगै बस्ने हो, यो समाज र राजनीतिसँग कुनै मतलव छैन । हामी कल्पना गरेर आर्ट बनाउने हो भन्थे । सौन्दर्य फोकस बढी हुनुपर्यो भन्थे । ‘बिचलित बर्तमान’ प्रदर्शनीमा पनि त्यही भयो । विस्तारै आर्ट यो फर्ममा पनि हुन सक्छ भन्ने कुरालाई स्थापीत गर्न सकें । सबैले स्विकार्नुभयो ।
अहिले आर्ट र एक्टिभिटीलाई पनि सँगै लैजाने भनेर अभियान चलिरहेका छन् । खुशी छु म । आर्टले समाजलाई छुन नसके त केही काम हुँदैन । आर्टलाई समाजबाट छुट्याएर होईन । केहीले थाहा नपाउने गरि आर्ट गर्छन् । तर तल्लो तहमै गएर त्यहाँको समाज राजनीतिलाई पनि हेरेर आर्ट बनाउने काम भैरहेका छन् ।
आर्टलाई जीवनसँग छुट्याएर हेर्न सकिन्न । हरेक मुद्धालाई कसरी प्राकृतिक बनाउने भन्ने हो । आर्ट पहिले पेण्टिङ र स्कप्चर थियो भने अहिले लाईफ र आर्टलाई छुट्याउन गाह्रो भएको छ । अनुभव गर्ने र अन्तरसम्बन्धको रुपमा ब्याख्या गरिएको छ । म एक्लै होईन कि हामी सबैको आवाज बोल्ने गरि आर्ट बनाउने हो ।