भाडा नबढाए दशैंमा अग्रिम टिकट नखुलाउने ब्यवसायीको निर्णय

काठमाण्डौं, असोज ४ ।
यातायात व्यवसायीले दशैंका लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेका छन् । यसअघि सरकार र यातायात व्यवसायीबीच असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको थियो । उक्त सहमति भदौ ३१ गते भएको थियो ।

तर सरकारसँग अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएलगतै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले टिकट बुकिङ खुल्ला नगर्ने निर्णय गरेको हो ।

आयल निगमले गत २ गते प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ र डिजलरमट्टीतेलमा ३ रुपैयाँ मुल्यवृद्धि गरेको थियो । नेपाल आयल निगमले गरेको मूल्यवृद्धि फिर्ता नगरे अग्रिम बुकिङ टिकट खुल्ला नगर्ने भन्दै व्यवसायीले मंगलबार २४ घन्टे अल्टिमेटम दिएका थिए ।

तर, सरकारले मूल्यवृद्धि फिर्ता नलिएपछि अग्रिम बुकिङ नखुलाउने निर्णय भएको महासंघका महासचिव सरोज सिटौलाले बताए । सरकारले मूल्यवृद्धि फिर्ता नलिएसम्म अग्रिम बुकिङ खुल्ला नगर्ने उनको भनाइ छ ।