बेनीमा दुई महिलाले जन्माए तिम्ल्याहा बच्चा, नगरपालिकाको आर्थिक सहयोग
बेनी, माघ ९ ।
म्याग्दीको बेनी नगरपालिका ७ मङ्गलघाटकी सम्झना पन्त बानियाँले तिम्ल्याहा बच्चा जन्माएकी छिन् । तिम्ल्याहा बच्चा जन्माएकी बानियाँलाई बेनी नगरपालिकाले ३० हजार नगद सहयोग गरेको छ ।
बानियाँजस्तै बेनी ४ का केदार आचार्यलाई पनि आर्थिक सहयोग गरिएको छ । तिम्ल्याहा बच्चाको पालनपोषणमा सघाउन नगरपालिकाले सो रकम सहयोग गरिएको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।
मंगलबार नगरपालिकाको कार्यालयमा नगरप्रमुख श्रेष्ठ, उप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र प्रवक्ता तथा वडा नं ८ का वडाध्यक्ष रामकृष्ण बराइलीले सो रकम हस्तान्तरण गरे ।
नगरकार्यपालिकाको मङ्गलबार सम्पन्न ३१औँ कार्यपालिका बैठकले रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।