बेगनासतालको मापदण्ड घटाउन माग

पोखरा, असोज ८ ।
बेगनास ताल वरिपरिका जग्गाधनीले तालको मापदण्ड घटाउन माग गरेका छन् । ताल संरक्षणका नाममा स्थानीयलाई नै मर्कापर्ने गरी मापदण्ड बनाउन नहुने उनीहरुको सुझाव छ । जग्गाधनीहरुले सरोकार समिति नै गठन गरेर मापदण्ड घटाउन दवाव दिईरहेका छन् ।

राष्ट्रिय ताल संरक्षण विकास समितिको पहलमा २०५३ साल देखि कास्की जिल्लाभित्र रहेका ताल वरीपरी भौतिक संरचना निर्माणमा मापदण्ड लागु गरिएको छ । जसअनुसर, फेवातालमा ६५ मिटर र साविक लेखनाथका तालहरुमा सय मिटरको मापदण्ड कायम भएको छ ।

यसैविच बेगनासताल वरपरका करिब दुइसय जना स्थानीयवासी जग्गाधनीहरुले शनिबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीलाइ भेटेर स्थानीयवासीसँग सहमति गरी न्युनतम मापदण्ड मात्रै कायम गर्न आग्रह गरेका थिए । उनिहरुले ताल संरक्षण गर्नु र तालको सुन्दरता जोगाउनु सबैको कर्तव्य भएपनि मापदण्डको क्षेत्रफल धेरै भएको कारण कयौं व्यक्तिहरु मर्कामा परेको गुनासो गरे ।

बेगनास तालमा १० मिटरमात्रै मापदण्ड लागू गर्नुपर्ने सरोकार समिति संयोजक स्थानीय नन्दप्रसाद तिवारीले बताए । गरिव जग्गाधनीहरुलाई निकै मर्का परेको उनी बताउँछन् । मेयर मानबहादुर जिसीले उचित व्यवस्था मिलाएर मात्र माग सुनुवाइ गर्ने बताए ।