बिजयकुमारको रवी लामिछानेलाई झटारो–‘नेतालाई गाली गर्दैमा ठूलो पत्रकार भईंदैन’
पोखरा, पुस ९ ।
‘आदरणीय बिजयकुमार सरलाई धेरै धेरै धन्यवाद, यो अपरच्युनिटीका लागि । जर्नालिजम गरिरहेको र पत्रकारिता कर्ममा लागिरहेको मेरो पुस्ताका लागि बिजयकुमारसँग मञ्च शेयर गर्नु भनेको आँफैमा एउटा ठूलो क्वालिफिकेशन भन्न चाहान्छु म ।’ मञ्च उक्लिएर माईक समात्ने वित्तिकै रवी लामिछानेले बिजयकुमारलाई फुरुङ बनाईदिए ।
जवाफमा बिजयकुमारले भने–‘रवी जी खासमा भन्ने हो भने मौका मेरो लागि हो, तपाईंको लागि होईन । आजको स्टार तपाईं हो, म होईन । तपाईं एउटा उदाउँदो सूर्य हो, हामीहरु अस्ताउन लागेको सूर्य ।’ केहिबेर एकले अर्कालाई प्रसंशा गरेरै सम्बाद चलाईरहे ।
सबैभन्दा पहिले तपाईंले साहित्य, जर्नालिज्म र संगीतलाई लिएर तपाईंको गज्जवको टिप्पणी छ–‘जर्नालिज्म भन्दा साहित्य माथी छ र साहित्य भन्दा पनि माथी संगीत छ, भन्नुहुन्छ । यसलाई धेरै पटक भन्नुभएको छ, आज एकपटक स्पष्ट पारिदिनुस् न ।’
रवीको जिज्ञासा पछि बिजयले जवाफ दिए–रवीको उमेरसम्म मलाई पत्रकारिता सबैभन्दा ठूलो लाग्थ्यो । विस्तारै जीवनकाल बित्दै जाँदा मलाई के लाग्न थाल्यो भने कि तीनवटै विधा आफ्ना भाव ब्यक्त गर्ने माध्यम हुन् । मलाई यो कुरामा सन्देह छैन कि, पत्रकारिता, साहित्य र संगीत क्रमशः माथिल्ला विधा हुन् । पत्रकारिता अपवाद बाहेक मस्तिष्कसँग सम्बन्धित छ । साहित्य अलिकति मष्तिस्क र अलिकति मुटुसँग सम्बन्धित छ । अनि संगीत चाहीँ शतप्रतिशत मुटुसँग सम्बन्धित छ । मुटुको अगाडी मस्तिष्कको केही लाग्दैन । तर मैले यसो भनिरहेको चाहीँ छैन कि–एउटा खराव संगीत उत्कृष्ट पत्रकारिता भन्दा माथी छ । किनभने उत्कृष्ट पत्रकारिता आँफैमा एउटा कला हो ।
तपाईंले तपाईंका पुस्ताका नेतालाई यति पुल्पुल्याउनु भो कि, आज तिनै मान्छेहरु भ्रष्ट भएका छन्, तिनै मान्छेहरु जसलाई तपाईंले सर्वाधिक मञ्च दिनुभयो । यिनै हुन् है भनेर बारम्बार देखाईरहनुभयो र बताईरहनुभयो । तपाईंको करिअरभरी देखाउनुभयो । तपाईंले हुर्काकाएका, तपाईंले पुल्पुल्याएका नेताहरुबाट अहिले हामीले दुख पाईरहेका छौं, यसमा तपाईंको केही टिप्पणी छ ? रवीको यो प्रश्नपछि मञ्च एक्कासी तात्यो ।
जरुर छ । यो हामी जहाँ बसिराछौं नि यसलाई मञ्च भन्छन् । अव यो मञ्चमा कहिले हँसाउने आउँछन् । कहिले रुवाउने आउँछन् । मञ्चको दोष होईन । मलाई लाग्दैन कि म मञ्चभन्दा के हो र पत्रकारिताका सीमाहरुबारे भ्रम कहिले पनि छैन । तपाईंको उमेरमा थियो, अहिले छैन । बिजयले कडा जवाफ फर्काए । यसले गर्ला कि भन्यो, मञ्च दियो । त्यसले पनि गर्दैन । यस्तो धेरै पटक भैरहन्छ । प्रयत्न गरिरहनुपर्छ । तर मैले मात्रै पुल्पुल्याएको त होईन होला, अलिकति मेरो भागमा दिए मात्रै पुग्छ ।
रवी जि मलाई क्षमा गर्नुस्, म ति पत्रकारहरुमध्ये पर्दिन कि हाम्रा कारण कोही बनोस् वा विग्रोस् । हरेक मान्छे आफ्नो कर्मले आउँछ र आफ्नो दोषले जान्छ । एउटा कुरा हो, पुष्पा बस्नेतलाई सम्झिएको छु । दुनियाँले चिने । हामीहरु एउटा पोईन्ट बाहेक अरु दोषी होईन । बिजयको जवाफ थियो ।
तपाईंलाई बालुवाटारमा रक्सी खाएर भनेको बेलामा एक्सेस दिने, भनेको र चाहेको बेलामा तपाईंलाई त्यतै भुलाएर अघिल्ला पुस्ताका नेताहरुले फाईदा लिए की ? तपाईं गर्वले भन्नुहुन्छ यि कोठाहरुमा त म छाद्दै हिडेको हो भनेर । तपाईंलाई त्यत्रो ठूलो एक्सेसको पहुँच तपाईंलाई दिएर विग्रिएकी भड्किएकी भनेर तपाईंलाई चिन्ता ब्यक्त गरेको हुँ । रवीले सोधे । बोलि फुत्किन नपाउँदै बिजयले जवाफ तेस्र्याईहाले–रवी जी मलाई एक्सेस दिएकाहरु त कम विग्रिए । तर हामी गतिलो भएको भए वहाँहरु (नेताहरु) त्यस्तो हुनुहुन्थेन ।
केहीबेरपछि अर्को उस्तैखाले प्रश्न कृष्णप्रसाद भट्टराई र बिजयकुमारको दोस्तीलाई जोडेर आएपछि बिजयले भने–‘किसुन जी पत्रकारितामा नभएको भएपनि म प्रेम गर्थें । वहाँको गल्तीहरु सहित प्रेम गर्थें वहाँलाई । सानोमा मलाई चक्लेट दिनुभयो, पछि वहाँका ड्युटी फ्रि रक्सी खाएर वालुवाटारका कोठाकोठामा छादेको छु भनें । यसलाई शब्दमा भन्दा विम्व हेर्नुस्–मैले बालुवाटारका कोठाहरु काम छैनन् भन्न खोजेको हुँ, रक्सीलाई देखाएर ।’
रवि लामिछानेले यही विषयलाई कोट्याउँदै सोधे, ‘तपाईं नेताहरुसँग बसेर रक्सी खाने गरेको सगर्व बताउनुहुन्छ, भोलिपल्ट तपाईंले काम गर्ने पत्रिकामा हिजो खाएको रक्सी त गन्हाउँदैन ?’
यो प्रश्नले दर्शकबाट ताली पायो । बल्ल विजयकुमार अझै गम्भीर बने । उनले जवाफ दिए, ‘मनुष्यको सार, उसको भित्रको ‘कोर’ उभित्रै हुन्छ । बुझिरहनुभएको छ ? तपाईं हल्लिनुभएन भने तपाईंलाई त्यति सजिलोसँग कसैले हल्लाउन सक्दैन । आर यू विथ मी ?’ अझै अघि भन्छन्–‘तपाईंको चिन्ता र सदिच्छा बुझिरहेको छु । नयाँ पुस्ताले आफ्नो सीमारेखा निर्धा्रित गर्न सिक्नुपर्छ । नेता आएन भने तपाईंको प्रोग्राम चल्दैन ।’
फेरि रविले पेल्न खोजे, ‘विजयकुमार त आफ्नो पत्रकारिताबाट हिरो भयो, तर समग्र मुलुकले उहाँबाट के पायो ? देश त बनेको छैन ?’ विजयकुमारले रविलाई अर्को दनक दिए, ‘पब्लिक फोरममा आएर ठूलो स्वरले नेतालाई गाली गर्दैमा आफ्नो उचाइ बढ्छ भन्ने पत्रकारितामा म विश्वास गर्दिनँ ।’
प्रायः एकछिन रोकिएर बोल्ने विजयकुमारले तत्काल भने, ‘हिरो शब्दमा मेरो आपत्ति छ । मैले आफूलाई हिरो ठानेको छैन, न हिजो, न आज, न भोलि । देश बनाउने त्यति हल्का विषय होइन । हामी सबैले आ–आफ्नो भूमिका र्गयौं भने त्यसको समजोडले देश बन्ने हो । म त्यो पत्रकार होइन, जसलाई देश बनाउँछु भन्ने भ्रम छ । त्यो मेरो क्षेत्र होइन । मेरो क्षेत्रभित्र सानो केही चिज गर्न सकेँ भने म सन्तुष्ट हुन्छु । देश बनाउने र हिरो बन्ने फरक चिज हो । इन्डियालाई सलमान खानहरुले बनाएका होइनन् ।’
रविको अर्को प्रश्न ः ‘धेरैले भन्छन् कि तपाईं एकदमै फरक स्वभावको हुनुहुन्छ । नमस्ते गर्दा पनि फर्काउँदैन भन्छन् मानिसहरु । तपाईंको हाउभाउ, बोलीचाली हेर्दा फरकपन देखिन्छ पनि । के तपाईं भित्रैदेखि भिन्न हुनुहुन्छ या अरुभन्दा फरक देखिन त्यस्तो ढोंग गर्नुहुन्छ ?’
विजय आफ्नै शैलीमा निकैबेर मौन बसे । अनि भने, ‘क्वेसन इज डिफिकल्ट । म टेलिभिजनमा नआएर अर्कै पेशामा भएको भए पनि यस्तै हुन्थेँ । मेरो दुर्भाग्य, आदरणीय नीर शाहले टेलिभिजनमा ल्याइदिनुभो । भोलिको दिनमा पनि म यस्तै हो । कहिलेकाहीँ आफ्नो सुरमा हिँडिरहेको हुन्छु । मेरो आँखाको पावर माइनस फाइभ छ । मान्छे झट्टै ठम्याउन सक्दिनँ । तर, मैले आजसम्म कुनै गरिब, जसले मेरो मनलाई छोएको छ, त्यसका लागि म घन्टौं रोकिएको छु ।’
अब दर्शकदीर्घाबाट प्रश्न आयो रवि लामिछानेलाई । एक सहभागीले सोधे, ‘अस्ती सञ्चारमन्त्रीले पत्रकारको काम समाचार लेख्ने हो, छापा मार्ने होइन भनेर तपाईंलाई व्यंग्य गर्नुभयो । त्यसमा तपाईंको जवाफ के छ ?
रविले स्पष्टीकरण दिए– ‘छापा मार्न गएकै छैनौं कहिले पनि । समस्या परेर मानिसहरु हाम्रो कार्यालयमा आउँछन् । हाम्रो कार्यालयमा मानिसहरुको भीड देख्नुभयो भने छक्क पर्नुहुनेछ । जहाँ पनि जाँदा प्रहरी– प्रशासन र अख्तियारलाई खबर गरेर जान्छौं । तर, कसैले बदमासी गरिरहेको देखियो भने प्रहरी कुर्दैनौं । यसको मतलव, कानून हातमा लिएको भन्ने होइन ।’
यति भनिसकेर लामिछानेले आफ्नो पूर्ववत् शैलीमा सञ्चारमन्त्रीलाई चेतावनी दिए, ‘सञ्चारमन्त्रीजयूलाई मेरो प्रश्न छ–राजा महाराजाले आफ्नो घेराभित्र राखेको रेडियो र टेलिभिजनलाई पहिले सिंहदरबार बाहिर ल्याइदिनुस । जनताको पहूँचमा ल्याइदिनुस ।’
अन्त्यमा रविलाई पेल्ने पालो आयो विजयकुमारको । उनले रविलाई भने, ‘अंग्रेजीमा एउटा भनाइ छ, एभ्री शो मस्ट कम टु एन इन्ड, नो म्याटर हाउ ग्रेट द शो इज, हाउ ग्रेट द शो म्यान इज ? (प्रत्येक शोको अन्त्य अवश्य हुन्छ, चाहे त्यो शो जति भव्य र शो म्यान जति महान किन नहोु) । आफ्नो बढ्दो प्रभावसँगै बढेको जिम्मेवारी पनि विचार गर्नुहोला ।’
पोखरा लेकसाइडमा जारी आइएमई नेपाल लिटलेचर फेष्टिभलको सोमबारे चर्काचर्की थियो यो । अँध्यारो–उज्यालो शीर्षकमा १ घण्टासम्म गरम बहस गरे दुवैले ।