बालुवाटार किनबेच गर्नेलाई काँग्रेसले छोड्दैन–सभापति देउवा

पोखरा, बैशाख ६ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटार जग्गा विवादबारे स्पष्ट छानवीनको माग गरेका छन् । शुक्रबार नेपाली काँग्रेस कास्कीको माछापुच्छ«े स्थित सार्दिखोला इकाईको भवन उद्घाटन गर्दै वहाँले सरकारी जग्गा किनबेच गर्नेलाई काँग्रेसले नछोड्ने चेतावनी दिए ।

‘बालुवाटारको जग्गा किनबेच भएको सुनिरहेको छु । यो कसैले किन्न बेच्न मिल्ने जग्गा होईन, उनले भने–गल्ती कहाँबाट भएको छ छानवीन हुनुपर्छ । गल्ती गर्नेलाई काँग्रेसले छोड्दैन ।’ पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सरकारको एक बर्ष नेपालका लागि निराशाजनक रहेको टिप्पणी गरे ।

बर्तमान सरकार गठन भएपछि देशमा भ्रष्टाचार, महंगी र अशान्ति बढेको भन्दै उनले त्यसको नियन्त्रण सरकार असफल भैसकेको तर्क गरेका छन् । उनले पार्टी एकताबद्ध भएर सरकारका गलत कामको विरुद्ध लाग्न आह्वान गरे ।

वडा इकाईको भवन बनाउने सार्दीखोला पहिलो वडा हो । करिब ९० लाख लगानीमा निर्माण भएको भवनलाई विपी स्मृति भवनको नाम दिईएको वडा सभापति गुञ्जमान गुरुङले बताए ।