फेवाताल–झार फाल्ने मेसिनकै आडमा जलकुम्भीको डंगुर

पोखरा, भदौ ३ ।
पछिल्लो समय पोखराको फेवातालमा एउटा ट्रेण्ड चलेको छ, कसैको जन्मदिन पर्ने वित्तिकै मेसिनमाथी चढेर जलकुम्भी तानेको भिडियो र फोटो फेसबुकमा पोष्ट्याउने । अघिल्लो बर्ष पोखरा महानगर र सांसद तथा हालका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट खरिद गरिएको जलकुम्भी झार तान्ने मेसिन फेवातालमा खासै प्रभावकारी देखिएको छैन ।

फेवाका किनारमा अहिलेपनि प्रशस्त जलकुम्भी झार देखिन्छन् । आडैमा हुन्छ झार फाल्ने मेसिन । तर फेवाताल हेर्ने पोखरा महानगरका ईञ्जिनियर महेन्द्रबहादुर गोदार चाहीँ निरन्तर झार फाल्ने काम भैरहेको बताउँछन् । ‘दैनिक ९ टन फाल्छ । विहान ७ बजेदेखि साँझसम्म काम हुन्छ, उनले भने–आज फाल्यो भोलि उस्तै । कसरी क्लियर गर्नु ?’

तालमा जलकुम्भी नघटेपछि ताल सफा गर्न ल्याईएको मेसिनको खासै प्रभावकारीता नरहेको स्थानीयहरु बताउँछन् । निकालिएको जलकुम्भी कोमागाने पार्कमा खाल्डो बनाएर थुपारिएको छ भने केही चाहीँ किनारमा थुपारिएको छ । मेसिनमा कर्मचारी नभएका कारण निरन्तर काम गर्न कठिन भएको गोदारले बताए । केही महिनाअघि डेढ करोड लागतमा मेसिन खरिद गरिएको हो ।