फेवातालमा कोलिफर्म भेटिएको रिपोर्टले बेगनासलाई चिन्ता
पोखरा, बैशाख ३ ।
पोखरा फेवातालको पानीमा पूर्ण कोलिफर्म भेटिएको रिपोर्ट संघीय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालयले निकाल्यो । तालको बीचबाट पानी निकालेर ल्यावमा परीक्षण गर्दा फेवातालमा पूर्ण कोलिफर्म देखिएको थियो । यसको मतलव यहाँको पानी पिउन योग्य छैन । यो रिपोर्टले फेवा आसपासलाई घचघच्याउने त भयो नै, त्यसभन्दा बढी बेगनास ताल वरपरका बासिन्दालाई चिन्तित बनाएको छ । मापदण्ड कार्यान्वयन गर्न नसक्दा फेवातालको पानी दिनहूँ प्रदुषित हुँदै गैरहेको छ ।
वेगनासतालमा पनि पछिल्लो समय अनाधिकृत रुपमा तालको मापदण्ड मिचेर संरचना बनाउने क्रम बढेको होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथका निवर्तमान अध्यक्ष दामोदरभक्त थापाले बताए । ‘कसैले रेष्टुरेण्ट बनाएका छन् । कोही घरै बनाएर ब्यवसाय गरिरहेकाहरु पनि छन्, उनले भने–बाहिरबाट आउने र स्थानीयले पनि ताल किनारमै जोडेर संरचना बनाए । यसको रेखदेख सरकारले गरेन ।’ यो क्रम बढ्दै गए बेगनासताल कुरुप बन्ने उनी बताउँछन् ।
‘फेवातालको पानीमा दिसा देखिएको समाचार सुन्दा नरमाईलो लाग्यो । तालमै जोडेर ब्यवसाय गर्दा फोहोर त हुने नै भयो, उनी भन्छन्–हामीलाई झन् ठूलो चिन्ता बेगनास तालको छ । विस्तारै वेगनास तालक किनारमा पनि संरचना भरिँदै गएका छन् ।’ विशेषगरी साना लगानीका ब्यवसायहरु ताल किनारमा खुलेको उनले सुनाए । ताल विकास बोर्डले बेगनास तालको मापदण्ड १ सय मिटर कायम गरेको छ । तर स्थानीयहरु यो मापदण्ड हुवहु पालना गर्न नसक्ने बताउँछन् ।
सय मिटर मापदण्ड लागू गर्दा जग्गाधनीलाई मर्का पर्ने भन्दै मापदण्ड घटाउनुपर्ने उनीहरुको माग छ । ‘चर्चा चलेको धेरै बर्ष भयो । कार्यान्वयनमा गएर राज्यले मुआब्जा दिनुपथ्र्यो । मुआब्जा नदिएपछि जनतालाई के फाईदा हुन्छ ?, वेगनास डुंगा ब्यवसायी समितिका पूर्व अध्यक्ष ढकनाथ पौडेल भन्छन्–विकास नै गर्ने हो भने सय मिटर दिन हाम्रो आपत्ती छैन । तर समयमा मुआब्जा त दिनुप¥यो नि ।’ २५ मिटर मात्रै मापदण्ड लगाउनुपर्ने उनको सुझाव छ । ‘फेवातालमा ६५ मिटर मापदण्ड छ । दिपाङ तालमा ४० मिटर छ । अनि बेगनासमा कसरी भयो १ सय मिटर ?, उनले अघि भने–जिल्लाभरीका सबै तालमा समान मापदण्ड लागू हुनुपर्छ ।’
अहिले नै सही मापदण्ड निर्धारण गरेर कडाईका साथ कार्यान्वयन नगरे फेवातालजस्तै कुरुप हुने उनको भनाई छ । ‘अहिले समस्या आएन भनेर चुप लाग्नु हुँदैन । सयौं बर्ष पछिसम्मको अवस्था हेरेर खाका बनाउनुपर्छ, उनले भने–१० बर्षअघि सम्म फेवाताल पनि यति दुषित थिएन नि । मापदण्ड मात्रै कडाई गरेको भए अहिले अरवौं रुपैयाँ किन खर्च गर्नुपथ्र्यो ?’ सरकारी निकायले चासो नदिएका कारण बेगनास तालमा अवैध र कानुन विपरित संरचना बनाउने र सार्वजनिक सम्पत्ति भोगचलन गर्ने क्रम बढेको स्थानीयहरु बताउँछन् ।