फेवातालदेखि पामे–घाटीछिना सडक कालोपत्रे गरिने

पोखरा, चैत १७ ।
पोखराको हल्नचोक–पामे–ठुलाखेत–घाँटीछिना सडक स्तरोन्नती गरिने भएको छ । सरकारले १० करोड भन्दा बढी रकम कालोपत्रे गर्नका लागि विनियोजन गरिसकेको छ । अर्थमन्त्रालयले पोखरा महानगरपालिकालाई समपुरक बजेट शीर्षकमा रकम पठाएको मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

थप भएको बजेटबाट यो बर्ष पामे बजार सम्म सडक कालोपत्रे हुने उनले बताए । यो सडकलाई प्रदेश सरकारको ‘पूर्वाधार विकास कार्यालय’ र ‘वल्र्ड बैंक’बाट बाटोको स्तरोन्नत्तिका लागि २ करोड भन्दा बढी बजेट निकासा भएको छ । आयोजना सुरु गर्नका लागि लगतकट्टा र सेन्टरपोइन्ट जाँच्ने काम भइसकेको सडक निर्माण समितिका अध्यक्ष लेखनाथ पराजुलीले बताए ।

साबिकको जिल्ला विकास समितिको सिफारिसमा ४ वर्षअघि ‘वल्र्ड बैंक’सँग स्तरोनतीका लागि सम्झौता भएपनि सीमसार क्षेत्रमा पर्ने भन्दै वल्र्ड बैंकले काम गर्न अस्विकार गरेको थियो । ‘०७१ माघमा सम्झौता गर्यौ । ०७१ मै नेपाल सरकारले तालमाथिको क्षेत्रलाई सिमसार क्षेत्र घोषण गर्यो, उनले भने–‘त्यसपछि सिमसार क्षेत्र माथि बाटो बनाउँन वल्र्ड बैंकले अस्विकार गर्यो ।’

बाटो कालोपत्रे गर्न प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयबाट १ करोड ३ लाख र सडक स्तरोन्नत्तिका लागि वल्र्ड बैंकबाट १ करोड ३० लाख रुपैयाको बजेट निकासा भएको छ ।