फार्म उद्योगमा भीषण आगलागी, २ करोडको नोक्सान
इटहरी, मंसिर २५ ।
सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान भीषण आगलागी हुँदा दुई करोड रूपैयाँभन्दा बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको छ ।
बिहान ४ बजे उद्योगको काम बन्द भएको र मजदूर नभएको अवस्थामा एकाएक डोरमेट बनाउने उद्योगको तयारी वस्तु गोदाम क्षेत्रबाट आगो फैलिएको प्रहरीले जनाएको छ । उद्योगी भानु टिवडेवालको उक्त उद्योगका प्रबन्धक शङ्कर ठाकुरका अनुसार आगलागीमा उद्योगका तयारी डोरमेट कच्चा पदार्थ र महत्वपूर्ण मेशिनमा समेत ठूलो नोक्सानी भएको छ ।
आगो लागेको केही समयमै इटहरीको वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसमेतको ठूलो उपस्थितिमा नियन्त्रण प्रयास भएको थियो । तत्काल धरान, इनरुवा, विराटनगर, दुहवी र सुन्दरहरैँचाको वारुणयन्त्रसमेत उद्योगको आगो नियन्त्रणमा आइपुगेकाले उद्योगमा अरु ठूलो नोक्सानी हुन नपाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । उद्योगमा के कारणले आगो लागेको हो भन्ने यकिन नभएको र नोक्सानीका विषयमा सोधखोज र यकिन तथ्याङ्क लिने कार्य भइरहेको पनि उनले बताए ।