प्राविधिक भन्छन्–’फेवातालको पानीमा दिशा भरिएको छ’

प्रकाश ढकाल
पोखरा, चैत २३ ।
फेवातालको पानीमा पूर्ण कोलिफर्म भेटिएको छ । संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना पोखराले गरेको ल्याव टेष्टले फेवाको पानीमा दिशाको मात्रा देखाएको छ । पूर्ण कोलिफर्म र इकोलीको मात्रा देखिएकोले पानी पिउन नमिल्ने आयोजनाले जनाएको छ । ‘फिजिकल, केमिकल र माईक्रो बायोलोजिकल प्यारामिटर हामीले अध्ययन गर्छौं । केमिकल र फिजिकल रुपमा ठीकै छ तर बायोलोजिकल हिसावले यहाँको पानी दुषित देखियो, आयोजनाका एसिस्टेन्स केमिष्ट सुनिल चौधरीले भने–बुझ्ने भाषामा भन्दा यो पानी पिउन मिल्दैन । पौडिनको लागि चाहीँ समस्या छैन ।’

अप्रिल २७ तारिखमा हुने एसियन कप ट्रायथोलन र साउथ एसिएन च्याम्पियनशीप ट्रायथोलनलाई मध्येनजर गरेर फेवातालको पानीको ल्याव टेष्ट गरिएको हो । १० दिनअघि फेवातालको बीचबाट पानी निकालेर ल्यावमा टेष्ट गरिएको चौधरीले जानकारी दिए ।

‘पानीको कडापन र अरु कुरामा समस्या छैन । स्विमिङका लागि उपयुक्त नै छ, उनले अघि भने–तर पानी निल्नु हुँदैन । पानीमा दिशाका कणहरु भरिएको छ ।’ अघिल्लो बर्षभन्दा केही शुद्ध पानी भएकोले प्रतियोगितामा असर नगर्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल बताउँछन् । ‘रिपोर्ट पोजिटिभ नै छ । यसले हामी उत्साही छौं, उनले भने–तर शुद्धीकरण चाहीँ पुगेको छैन । सरोकारवालाले सोच्ने बेला आएको छ ।’

अघिल्लो बर्षदेखि फेवातालको पानी टेष्ट गर्न थालिएको हो । जापानीज सहयोग नियोग जाईकाले तालको पानी पिउन अयोग्य रहेको रिपोर्ट धेरै बर्षअघि नै निकालेको हो । तर यसको शुद्धीकरणमा कुनै निकायको चासो पुगेको छैन । तर अघिल्लो बर्षभन्दा अहिलेको रिपोर्टले पानी केही शुद्ध देखाएको छ । सामान्यतः पानीमा ६.५ देखि ८.५ सम्मको क्षार हुनुपर्ने प्राविधिकहरु बताउँछन् । अघिल्लो बर्ष ८.७ रहेकोमा यो बर्ष ८.१ पिएच क्षार देखिएको छ ।

पानीमा धमिलोको मात्रा पनि सामान्य भन्दा निकै धेरै रहेको प्राविधिक चौधरीले जानकारी दिए । सही ब्यवस्थापन र निरीक्षण नभएका कारण लामो समयदेखि सर्वसाधारणको घरबाट निस्किने ढल सीधै फेवातालमा मिसिँदै आएको छ । पोखरा महानगरपालिकाले बर्षेनी ढल निकासको अनुगमन गरेपनि त्यसको सही निकास निकाल्न भने सकेको छैन । सेती नहरको पानी समेत सोझै फेवातालमा मिसिन्छ । पोखरा महानगरका मेयर मानबहादुर जिसी अर्को बर्षदेखि यो समस्या नआउने बताउँछन् ।

‘फेवातालमा मिसिने सबै ढल डाइभर्सन गर्ने जिम्मा हाम्रो छ । यसका लागि मास्टर प्लान बनाईरहेका छौं, उनले भने–जेठभित्र डिपिआर गर्न सके आउँदो आर्थिक बर्षदेखि धमाधम काम थाल्छौं ।’ ढल डाइभर्सन र सिल्ट्रेसनको काम सँगसँगै गर्ने तयारीमा रहेको उनले सुनाए । ढल ब्यवस्थापन गर्न ६ अर्व लागत लाग्ने प्रारम्भीक अनुमान छ । त्यसमध्ये १५ प्रतिशत महानगरले ब्यहोर्ने छ भने बाँकी रकम ढल विभागले लगानी गर्नेछ । पोखराको बीचबाट बग्ने फिर्केखोला र बुलौंदी खोला फेवाताल प्रदुषणको मुख्य कारक हो । फेवाताल शुद्धीकरणका लागि यी दुवै खोला किनारबाट अबैध बस्ती हटाउनुपर्ने विज्ञहरुको सुझाव छ ।