प्रधानमन्त्री ओेली फेरि बिरामी, सुधार नभए सिंगापुर लगिने

काठमाण्डौं, साउन ३० ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार नभए केही दिनमै उपचारको लागि फेरि विदेश लैजाने तयारी भइरहेको छ । साउन २७ गते सिङ्गापुरबाट उपचार गराएर फर्केका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार नभए उपचारको लागि विदेश लैजाने तयारी भइरहेको स्रोतले जनाएको छ ।

यसअघि सिंगापुरबाट उपचार गरेर फर्किपछि भदौ ५ गते फ्लोअपका लागि सिंगापुर जाने तयारी थियो । उनको अस्वस्थताका कारण आज बस्ने भनिएको क्याविनेट बैठक र पार्टी सचिवालयको बैठक समेत स्थगित भएको छ ।

साउन २८ गतेदेखि सचिवालय बैठक लगातार सर्दै आइरहेको थियो । आज ३ बजे बस्ने भनिएको बैठक चार बजेका लागि सारिएको थियो तर प्रधानमन्त्री ओलीको स्वास्थ्य अचानक विग्रेपछि बैठक स्थगित गरिएको हो ।

सचिवालय बैठकमा केन्द्रीय कार्यसमितिको कार्य्विभाजन लगायतको विषयमा छलफल हुने एजेण्डा तय भएको थियो । कार्य्विभाजनमा स्कूल विभाग कसले लिने कुरामा विवाद देखिएको छ । सो विभागका लागि प्रवक्ता नारायाणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेलले दावी गर्दै आएका छन् । स्कूल विभागको विवाद समाधान नभएका कारण अन्य विभागको जिम्मेवारी बाँडफाँड पनि सार्वजनिक गरिएको छैन ।