प्रदेश ४-मुख्यमन्त्री र सभामुखको शपथ आज, शपथ खाने २ मन्त्री को को ?

पोखरा, फागुन ४ ।
प्रदेश नम्बर ४ का मुख्यमन्त्रीले आज शपथ लिँदैछन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँगै सभामुख नेत्रनाथ अधिकारीले पनि आजै शपथ लिने कार्यक्रम छ । आईतबार संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका गुरुङलाई सोमबार प्रदेशप्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यसपछि बुधबार नै शपथ ग्रहणको कार्यक्रम राखिएकोमा गुरुङकी कान्छीआमाको निधन भएपछि शपथ दुई दिन पछि सरेको हो । अधिकारी चाहीँ विहिबार मात्रै सभामुखमा निर्वाचित भएका थिए । दुवैजनाको संगै शपथ गराउन लागिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । शपथ प्रदेश प्रमुखको निवास रत्नचोकमा अहिले साढे ९ बजे हुँदैछ ।
यस्तै, मुख्यमन्त्री र सभामुख सँगै थप दुई मन्त्रीले पनि आजै शपथ लिने कार्यक्रम छ । तर नामावली भने टुंगिएको छैन । दलहरु अहिले आन्तरिक छलफलमा ब्यस्त छन् । माओबादी र एमालेले १/१ जनालाई मन्त्रीमा पठाउने तयारी बुझिएको छ । एमालेबाट गोरखाका सांसद रामशरण बस्नेतलाई पठाउन लागेको बुझिएको छ । उता माओबादीले पनि गोरखाकै सांसद लेखबहादुर थापालाई अगाडी सारेको सुनिन्छ । यद्यपी यो बिषय टुंगिएको भने छैन । माओबादीबाट संसदीय दलको नेतामा निर्वाचित भएका तनहूँका सांसद हरिबहादुर चुमान पनि जान सक्ने माओबादी श्रोत बताउँछ । नवनियुक्त हुने मन्त्रीको मन्त्रालय पनि टुंगिएको छैन ।