प्रदेश प्रमुखलाई सरकारले हटाउने (को होला प्रदेश ४ मा नयाँ प्रमुख ?)

पोखरा, असार २१ ।
सरकारले अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्त खारेज गरेको छ । मन्त्रीपरिषद्को निर्णयले सबै राजनीतिक नियुक्ती खारेज गरिएको हो । यद्यपी यसबारे अन्तिम निर्णय हुन बाँकी छ ।

राजनीतिक नियुक्ति खारेज हुने वित्तिकै देउवा सरकारले नियुक्त गरेका सबै प्रदेशका प्रदेश प्रमुख पनि फालिनेछन् । योसँग प्रदेश प्रमुखमा को नियुक्त हुने भन्ने चर्चा सर्वत्र सुरु हुन थालेको छ । पार्टीगत रुपमा आन्तरिक छलफल पनि चलिसकेको श्रोत बताउँछ ।

प्रदेशको प्रमुखको रुपमा प्रदेश ४ मा तत्कालीन एमाले नेता तथा हाल नेकपाका नेता सोमनाथ अधिकारी (प्यासी) लाई प्रदेश प्रमुख बनाउने तयारी छ । उनी कास्कीका पूराना र निरन्तर क्रियाशिल नेता हुन् ।

केन्द्रिय पहुँच समेत राम्रो भएकोले र राजनीतिक प्रभाव बढी भएकोले उनको सम्भावना अधिक रहेको नेकपाका एक नेताले बताए । ‘वहाँ पूराना नेता हुनुहुन्छ । अहिलेसम्म अवसर नपाएको हिसावले पनि बढी सम्भावना छ, उनले भने–अहिले सामान्य हिसावले लविङ पनि सुरु भएको बुझेको छु । यत्तिको नेतालाई बनाउँदा पार्टीको पनि गर्वको बिषय हो ।’ यसबाहेक अरुपनि नाम आएको तर गहन छलफल नभएको ती नेता बताउँछन् ।

अधिकारी हाल नेकपाको स्थायी कमिटीका आमन्त्रित सदस्य हुन् । देउवा सरकारले सातवटै प्रदेशका प्रदेशप्रमुख नियुक्त गरेको थियो । प्रदेशप्रमुख नियुक्त भएपछि नै सांसदको शपथ र सभा सञ्चालन सुरु भएको थियो । सबै प्रदेशले दोश्रो अधिवेशन सुरु गरिसकेका छन् । प्रदेश ४ मा पुर्व महान्यायधिबक्ता बाबुराम कुवँरलाई प्रदेश प्रमुखको रुपमा नियुक्त गरिएको थियो ।