प्रदेश नम्बर ४ को बजेट उत्पादनमुखी हुने ः अर्थमन्त्री गुरुङ

पोखरा, जेठ २२ ।
प्रदेश नम्बर ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेट बितरणमुखी नभएर उत्पादनमुखी हुने बताएका छन् । ‘हामी पूँजिगत खर्च बढी हुने गरी बजेट निर्माणमा लागेका छौँ’, आर्थिक वर्ष २०७५÷०७६ को बजेट सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ ले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने,‘हामीले भौतिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएका छौँ ।’
अर्थमन्त्री गुरुङले निजी क्षेत्रले दिएका सुझावहरुलाई समेट्दै करिब २६ अर्बको बजेटको तयारीमा जुटेको जानकारी पनि दिए । उनले प्रदेशमा रहेका निजी क्षेत्र र सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानीको लागि आग्रह गरे । प्रदेशको बजेट आउँदो असार १ गते आउँदैछ । सहकारीहरुले सस्तो दरमा ऋण प्रवाह गर्नुपर्नेमा झन महंगो भएको बताउँदै उनले बचत तथा ऋण सहकारीहरुको अनुगमन गरिने बताए । इ–गभर्नेन्सको अवधारणालाई व्यवहारमा उतार्न बित्तीय साक्षरता कार्यक्रम आवश्यक भएको उनको तर्क थियो ।
कार्यक्रम तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष संजिवबहादुर कोइरालाले आगामी बजेटले दोहोरो करको अन्त्य हुनुपर्नेमा जोड दिए । प्रदेशको निजी क्षेत्र प्रदेश सरकारसँग सहकार्यको लागि तयार भएको बताउँदै उनले कर प्रणालीलाई सरलिकृत गर्न माग समेत गरे । पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले सिँहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा दिइए पनि कर उठाउने काममा मात्र सिँहदरबार स्थानीय तहमा आएको जिकिर गरे ।
लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरिले प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्न बजेट विनियोजन हुनुपर्ने बताए । लेखनाथका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले पहिले उद्योग स्थापना भएको ठाउँमा बस्ती बढ्दै जाँदा बस्ती नै हटाउने माग हुने गरेको बताउँदै यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए । पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव अर्जुन पोखरेलले पोखराको ९ किलोमिटर दूरीमा रहेका गाउँका बासिन्दा पनि सुविधाको लागि पोखरामै बस्दै आएको जानकारी दिँदै गाउँमा सुविधा पुगे बसाईँ सराईँ रोकिने तर्क गरे ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य गीता तिवारी गौतम, डिवी भुजेल, सूर्य नेपाल प्रालिका गौतम यादव, व्यवसायीहरु कालिदास पौडेल, रामकली खड्का, कमल अर्याल, कमल न्यौपाने, सनदकुमार भट्टराई, हीरा भट्टराई, रामचन्द्र रेग्मी, हरि शर्मा गैरे, पर्वत उद्योग वाणिज्य संघका उपाध्यक्ष ठाकुर बि पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ का उपाध्यक्ष कृष्णराज पंडित लगायतले बजेट बितरणमुखी हैन उत्पादनमुखी हुनुपर्नेमा जोड दिएका थिए ।