प्रदेश असफल भए त्यसको जिम्मेवारी केन्द्रले लिनुपर्छ–मुख्यमन्त्री गुरुङ

पोखरा, भदौ १३ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार असफल भए दोषजति केन्द्र सरकारले ब्यहोर्नुपर्ने बताएका छन् । प्रदेशसरकारलाई अधिकार विहिन बनाउने अभ्यास भैरहेको भन्दै उनले तल्ला तहलाई अधिकार सम्पन्न नबनाए केन्द्र सरकार नै असफल हुने बताएका हुन् ।

गण्डकी प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको अधिकार घरआँगनमा आएको भाषण गरेपनि जनताले महशुस गर्न नपाएको बताए । उनले यस्ताखाले अन्यौलता अव लामो समय नटिक्ने समेत बताएका छन् । ‘अव अन्यौल धेरै दिन रहँदैन । अनिश्चितता रहिरह्यो भने हामी अगाडी बढ्न सक्दैनौं, उनले भने–अन्तरप्रदेश परिषदको तयारी गर्दैछौं । पहिलो बैठकमै सबै कुरा उठाउँछौं । र चित्त नबुझेका कुरामा छिनोफानो हुन्छ ।’

मुख्यमन्त्री गुरुङले स्थानीय सरकारले जनतालाई मार पर्ने गरी कर लाउन नहुने बताएका छन् । कर बढी लिने भन्दा धेरै ठाउँ खोजेर करको दायराभित्र ल्याउनुपर्नेमा उनको जोड छ ।