प्रदेशको मन्त्री छान्न मुख्यमन्त्री पृथ्वीसुब्बा काठमाण्डौं लागे

प्रकाश ढकाल
पोखरा, फागुन १ ।
प्रदेश ४ को मुख्यमन्त्रीमा एमाले संसदीय दलको नेता पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । वाम गठबन्धनका सांसदहरुको झण्डै दुई तिहाई बहुमत हस्ताक्षर सहितको प्रश्ताव बुझाएपछि प्रदेश प्रमुख बाबुराम कुवँरले सोमबार गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत प्राप्त राजनीतिक पार्टीको संसदीय दलका नेतालाई मुख्यमन्त्रीका रुपमा नियुक्त गरेको कुवँरले बताए । गुरुङ एमालेका चार नम्बर प्रदेश संयोजक किरण गुरुङलाई सहमतिमा ल्याएर निर्विरोध मुख्यमन्त्री भएका हुन् । मुख्यमन्त्रीमा नियुक्तिका लागि गुरुङले नेकपा एमाले र माओवादी केन्द्रका ३९ सांसदहरुको हस्ताक्षर बुझाएका थिए । यो प्रदेशमा प्रमुख दल एमालेको २७ र तेश्रो दल माओबादी केन्द्रको १२ सीट छ । दोश्रो भएको काँग्रेससँग १५, चौंथो जनमोर्चासँग ३ र पाँचौ दल नयाँ शक्तिसँग २ सीट छ । मनाङबाट स्वतन्त्र चुनाव जितेका दिपक मनाङे चाहीँ जितेकै समयदेखि फरार छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि गुरुङले माओबादीसँगको समन्वयमा मन्त्रालय बाँडफाँड गरेर जतिसक्दो छिटो मन्त्रीमण्डल विस्तार गर्ने बताए । मुख्यमन्त्रीको शपथ बुधबार दिउँसो २ बजे प्रदेश प्रमुखको निवासमा राखिएको छ । गुरुङले प्रदेश ४ को समृद्धीका लागि सबैसँग समन्वय गरेर काम गर्ने बताए । उनले प्रदेशको सरकारी कामकाजको भाषालाई पनि दलहरुको सहमतिमा टुंग्याउने बताएका छन् । ७ मन्त्रालय रहने प्रदेशमा मुख्यमन्त्री सहित ५ वटा मन्त्रालय एमालेले राख्नेछ भने दुईवटा मात्रै माओबादीको भागमा पर्ने बुझिएको छ । यद्यपी माओबादीले ३ वटा मन्त्रालय मागिरहेको छ । मन्त्री छान्ने कसरतमा दुवै पार्टीका नेताहरु निरन्तर बैठक र आन्तरिक छलफलमा ब्यस्त छन् ।
एमालेभित्र कास्कीबाट राजीव पहारी र मनबहादुर गुरुङको नाम मन्त्रीका लागि बढी चर्चामा छ । गोरखाका रामशरण बस्नेत, म्याग्दीकी नरदेवी पुन, पर्वतका विकास लम्साल, नवलपुरका रोशनबहादुर गाहा मन्त्रीको लाईनमा छन् । यद्यपी कास्कीका कृष्ण थापा र सिर्जना शर्मालाई पनि चर्चाको हिसावले अगाडी राखिएको छ । एमालेले पाउने उपसभामुखमा नरदेवी पुन र सिर्जना शर्मा मध्ये एकजनालाई लैजाने र अर्कोलाई मन्त्री बनाउने बुझिएको छ । मन्त्री र मन्त्रालय टुंग्याउनका लागि नवनियुक्त मुख्यमन्त्री मंगलबार काठमाण्डौं जाने कार्यक्रम छ । ‘अहिले मन्त्रालय पनि टुंगिएको छैन । संसदीय दलको नेता चयनको बिषयले लामो समय ब्यस्त बनायो, एमालेका एक नेताले भने–मंगलबार मुख्यमन्त्री ज्यू अध्यक्ष कामरेडलाई भेट्न जाँदै हुनुहुन्छ त्यसपछि एकखाले सिनारियो आउला ।’ मन्त्रालय र मन्त्री टुंग्याउन केन्द्रिय कमिटिको हस्तक्षेप हुने भएपछि केही सांसदहरु केन्द्रिय नेताहरुको नियमित सम्पर्कमा छन् । आफ्नो पक्षमा सहमति जुटाईदिन उनीहरुले आग्रह गरिरहेका श्रोत बताउँछ ।
उता दुई मन्त्रीको हकवाला माओबादी केन्द्र पनि आफ्नो उम्मेदवार चयनमा ब्यस्त छ । माओबादीले मन्त्रालय टुंगो लाग्ने वित्तिकै मन्त्री सिफारिस गर्ने जनाएको छ । ‘हामी ३ मन्त्रालय मागिरहेका छौं । एमालेले २ वटा मात्रै दिने बताएको छ, माओबादी श्रोतले भन्यो–मन्त्रालय र जिम्मेवारी टुंगिने वित्तिकै हामी मन्त्री पठाउँछौं । कति जना पठाउने भन्ने मात्रै अन्यौल हो ।’ मन्त्री सिफारिसका लागि प्रदेशस्तरीय बैठक सोमबार पनि बसेको थियो । श्रोतका अनुसार यसअघि नै संसदीय दलको नेतामा चुनिएका तनहुँका सांसद हरिबहादुर चुमान मन्त्री बन्ने लगभग टुंगिएको छ भने अर्को मन्त्रीमा कास्कीका दुई सांसदको टक्कर छ । दीपक कोइराला र संसदीय दलको नेता समेत भैसकेका रामजी बराल मन्त्रीको दौडमा छन् । दुवै नेतालाई पालैपालो मन्त्री बनाउने कुरा पनि सुनिएको छ । यद्यपी यसबारे नेताहरु चाहीँ खुलिसकेका छैनन् । सत्तारुढ दल मन्त्रीको तयारीमा पुगिसकेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चाहीँ संसदीय दलको नेता पनि छानिसकेको छैन । साता दिन भित्रै छनौट गरेर पठाउने काँग्रेसले जनाएको छ । संसदीय दलको नेताका लागि कृष्णचन्द्र नेपाली र विन्दुकुमार थापाको बढी दावी छ ।
प्रदेशका मुख्यमन्त्री केन्द्रिय मन्त्री सरहका हुन्छन् । उनीहरुको मर्यादा र सेवा सुविधा समेत केन्द्रिय मन्त्रीसँग बराबर हुने मन्त्रीस्तरीय निर्णय छ । प्रदेशका मन्त्री र राज्यमन्त्रीको सुविधा र मापदण्ड चाहीँ केन्द्रको मन्त्री र राज्यमन्त्री भन्दा ठ्याक्कै तल छ । प्रदेश सांसदको मर्यादा पनि केन्द्र सांसद भन्दा तल छ । मन्त्री र राज्यमन्त्रीले प्रयोग गर्ने गाडीमा एउटै झण्डा राखिने बताईएको छ । केन्द्र भन्दा प्रदेशका मन्त्रीहरुको झण्डको आकार केही सानो हुने बताईएको छ । मुख्यमन्त्रीले शपथ ग्रहणपछि मात्रै सरकारी सुविधा प्राप्त गर्नेछन् ।