प्रचण्डविरुद्ध अमेरिकामा उजुरी

काठमाण्डौं, चैत ५ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध संयुक्त राज्य अमेरिकामा उजुरी परेको छ । पत्नी सीताको उपचारका लागि अमेरिका पुगेका दाहालविरुद्ध केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा. तिलक श्रेष्ठले उजुरी गरेका हुन् ।

उनले बाल्टीमोरस्थित संघीय ब्युरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दर्ता गरेका छन् । ‘आतंकवादी भनेर चिनिएका पुष्पकमल दाहाल नेपालबाट आएका छन् । उनी अमेरिकाको आतकंककारी सूचीमा रहेका थिए । उनी संलग्न भएको गतिविधिका कारण १७ हजारभन्दा बढी गरिब नेपाली मारिएका थिए । पत्नी सीता दाहालको उपचारका लागि उनी अमेरिकाको जोन होप्किन्स अस्पतालमा छन् ।’ डा श्रेष्ठले दायर गरेको उजुरीमा उल्लेख छ ।

पश्चिमा मुलुकहरुले युद्ध अपराध वा आतंकवादी क्रियाकलापमा संलग्न भएको आरोप लागेको अवस्थामा आफ्नो देशमा प्रवेश निषेध गर्ने वा पक्राउ गर्न र त्यहाँको कानुन अनुसार कारबाहि गर्न सक्छन् । यसअघि नेपाली सेनाका महा सेनानी कुमार लामालाई बेलायतमा यस्तै उजुरीका आधारमा पक्राउ गरिएको थियो । महा सेनानी लामा राष्ट्रसंघीय मिसन अन्तर्गत सुडानमा कार्यरत थिए । आफ्ना परिवारका सदस्यलाई भेट गर्न बेलायत गएको अवस्थामा उनलाई सन् २०१३ मा पक्राउ गरिएको थियो ।

पछि सरकारको पहलमा बेलायतले उनलाई थुनामुक्त गरेको थियो । यस्तै द्वन्द्वकालमा मैना सुनारको हत्यामा संलग्न भएको आरोप लागेका सेनानी निरन्जन बस्नेत सन् २००९ मा संयुक्त राष्ट्रसंघीय मिसनबाट फर्काइएका थिए । द्वन्दग्रस्त अफ्रिकी मुलुक चाटमा शान्ति स्थापनाका लागि खटिएको टोलीमा परेका बस्नेत विरुद्ध बिभिन्न मानव अधिकारवादी संघसंस्थाहरुले १५ वर्षीया किशोरी सुनारको हत्यामा संलग्न भएको उल्लेख गर्दै बिरोध गरेपछि राष्ट्र संघको शान्ति स्थापना विभागले फिर्ता गरेको हो ।