पोखरा विमानस्थल १५ दिनसम्म दैनिक १५ घण्टा बन्द हुने (तालिका हेर्नुस्)
पोखरा, मंसिर २ ।
धावन मार्ग मर्मतका लागि आइतबार देखि दैनिक १५ घण्टा पोखरा विमानस्थल बन्द हुने भएको छ । धावन मार्गका विभिन्न ठाउँमा चर्किने र गिटिहरु उप्किन सुरु भएपछि मर्मत गर्न लागिएको हो ।
दिउँसो ३ बजे देखि बिहान ६ बजेसम्म विमानस्थल मर्मतका लागि बन्द गरिएको पोखरा विमानस्थलका निर्देशक भोला प्रसाद गुरागाईले जानकारी दिए । उनले कालोपत्र गरिएको सबै ठाँउमा सल्ली सिल्क र सिमेन्ट मिसाएको झोल लेपन गर्ने बताए ।
प्राधिकरणको योजनाअनुसार १५ दिनमा सबै काम सकिने र धावन मार्ग भन्दा बाहिरको बाटो पिच गर्ने काम भने १ महिना सम्म चल्नेछ । धावन मार्गको मर्मत र थप पिच गर्नका लागि १ करोड ९० लाख खर्च लाग्ने उनले सुनाए ।
पोखरा विमानस्थलबाट अहिले दैनिक २ सय ६० उडान हुँदै आएका छन् । पोखराबाट काठमाण्डौं, मुस्ताङ, भरतपुर, बुटवल लगाएतका ठाउँमा उडान हुन्छ । पोखराबाट बुद्ध, यति, सिम्रिक, तारा, नेपाल एयरलाईन्सका जहाज उड्छन् । माउन्टेन फ्लाइटका लागि हेलिकोप्टर, अल्ट्रालाइट र जाईरोकोप्टरले पनि सेवा दिँदै आएका छन् ।