पोखरा महानगरले बजेट विनियोजनमा पक्षपात गरेको भन्दै काँग्रेसी वडाध्यक्षको विरोध

पोखरा, भदौ २७ ।
नेपाली काँग्रेसका तर्फबाट विजयी बनेका वडा अध्यक्षले पोखरा महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७५÷७६को बार्षिक विकास कार्यक्रमप्रति विरोध जनाएका छन् । महानगरमा काँग्रेसतर्फका सचेतक रामराज लामिछाने सहितका काँग्रेसका जनप्रतिनिधिले बुधबार विज्ञप्ति जारी गर्दै कार्यक्रमप्रति विरोध जनाएका हुन् ।

विज्ञप्तिमा नगरसभाको निर्णय विपरीत योजना हटाएको, प्रस्तावित बजेट घटाएको तथा महानगरका प्रमुखले आफ्नो मनोमानी रुपमा योजना हटाउने र नयाँ योजना थप गरेको आरोप लगाइएको छ । विज्ञप्तिमा नगरसभामा प्रस्तुत भई छलफल पश्चात पारित भएका कार्यक्रमलाई तोडमोड गरिएको भन्दै बिरोध गरेका छन् ।

वन तथा वातावरण समितिले प्रस्तुत गरेको ४७ करोड ३५ लाख ८६ हजार ६ रुपैयाँ लाई घटाएर १९ करोड ७० लाख बनाइएको विज्ञप्तिमा उल्लेख छ । संस्थागत सेवा प्रवाह समितिवाट ३१ करोड ५७ लाख २४ हजार ४ लाई घटाएर १२ करोढ ५१ लाख बनाएको, ५ वटा विकास समितिले राखेका योजना हटाएर एकमुष्ठ राखिएको, गैर सरकारी संस्थाहरुलाई बजेट विनियोजन गरिएको, वडालाई १५ वटा योजना ल्याउने भनेर ५ वटा मात्र समावेश गरेकामा असन्टुष्टी बढेको लगायत उल्लेख छ ।