पोखरा महानगरको नियम–खादा माला बन्द, जनप्रतिनिधी अतिथि बन्न नपाउने

पोखरा, भदौ २८ ।
पछिल्लो सयम सार्वजनिक कार्यक्रमहरु बढी औपचारिक र भद्धा हुन थालेपछि पोखरा महानगरले नयाँ नियम बनाएको छ । कार्यालयले विहिबार महानगर तथा वडाहरुको आर्थिक सहयोगमा सञ्चालन हुने कार्यक्रमका लागि १८ बुँदे शर्त सहितको नियम सार्वजनिक गरेको हो ।

नयाँ नियममा अधिकांश विषय अनौपचारिक हिसावको छ । यी शर्तहरुले कार्यक्रम चुस्त र प्रभावकारी हुने मेयर मानबहादुर जिसी बताउँछन् । अव महानगरमा हुने कार्यक्रमको उद्घाटन र समापनको नाममा तामझाम गर्न पाईने छैन । यस्तै, महानगरको पैसाले खादा, माला, ब्याच र मायाको चिनो प्रयोग गर्न नपाईने नियम बनाईएको छ ।

कार्यक्रममा प्रमुख अतिथि र अतिथि भनेर अनावश्यक ब्यक्तिलाई आमन्त्रण गर्न नपाईने, महानगरका जनप्रतिनिधी वा कर्मचारी महानगरको सहयोगमा सञ्चालनमा हुने कुनैपनि कार्यक्रममा प्रमुख अतिथि वा अतिथि बन्न नपाउने तर कार्यक्रमको प्रमुख ब्यत्तित्व वा अध्यक्षता ग्रहण गर्न बाधा नपर्ने नियम छ ।

कार्यक्रमहरु राउण्ड टेवुलमा वा अतिथिहरुलाई पनि सहभागीकै लाईनमा राख्नुपर्ने, आसन ग्रहण र सम्बोधनजस्ता अनावश्यक प्रक्रिया छोट्याउनुपर्ने, अध्यक्षलाई आसन ग्रहण गराईसकेपछि बाँकी सबैलाई एकमुष्ट आसन ग्रहण गराउनुपर्ने, एकदिन वा सोभन्दा कम समय सञ्चालन हुने कार्यक्रममा नोटबुक कलम बाँड्न पाईंदैन ।

तालिम वा अभिमुखिकरण जस्ता कार्यक्रममा सहभागी गराउँदा सोही प्रकृतिको कार्यक्रममा यसअघि सहभागी नभएको लाई सहीछाप लगाएर मात्रै लिने ब्यवस्था गरिएको छ भने कार्यक्रम खर्च कार्यक्रम स्थलमै सार्वजनिक गर्नुपर्ने ब्यवस्था छ ।