पोखरा महानगरकाे एकीकृत सम्पत्ति कर घट्यो (तिरिसकेकाको के हुन्छ ?)

पोखरा, असोज ८ ।
पोखरा महानगरपालिकाले एकीकृत सम्पत्ति करमा १० प्रतिशत कर घटाउने निर्णय गरेको छ । सोमबार बसेको कार्यपालिका बैठकले अहिले लिईरहेको करको दरमा १० प्रतिशत घटाउने निर्णय गरिएको हो । योसँगै पुस मसान्तसम्म कर बुझाउने करदाताले अव २० प्रतिशत छुट पाउनेछन् ।

यसअघि उनीहरुले १० प्रतिशतमात्रै छुट पाउँदै आएका थिए । त्यसपछि पनि बर्षैभरी १० प्रतिशत कर छुट हुने महानगरले जनाएको छ । कृषियोग्य जमिनमा चाहीँ ३० प्रतिशत कर घटाउने निर्णय भएको सुझाव संकलन समितिकी संयोजक तथा उपमेयर मञ्जुदेवी गुरुङले जानकारी दिईन् ।

केहीअघि अघि बसेको समितिको बैठकले प्रतिशतका आधारमा कर घटाउन कार्यपालिकालाई सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा निर्णय गरिएको मेयर मानबहादुर जिसीले जानकारी दिए । उनका अनुसार हालसम्म कर तिरिसकेका करदातालाई आगामी बर्ष कर तिर्दा समायोजन गरिनेछ ।

तर काँग्रेसतर्फका वडाध्यक्षहरुले चाहीँ करको दर बैज्ञानिक नभएको भन्दै विरोध जनाएका छन् । उनीहरुले प्रतिशतका आधारमा कर घटाएर सेवाग्राहीले कर घटेको महशुस गर्न नपाउने उल्लेख गर्दै विज्ञको सल्लाहमा बैज्ञानिक ब्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।

वडा नम्बर ४ का अध्यक्ष तथा समितिका सदस्य शंकर बास्तोलाले एकतर्फी रुपमा निर्णय गरेर कर घटाउँदैमा आफुँहरुले त्यसलाई स्विकार नगर्ने बताए । उनले महानगरको निर्णय विरुद्ध नोट अफ डिसेन्ट लेख्ने चेतावनी दिएका छन् ।