पोखरा महागरको बजेट किताव काँग्रेसले च्यात्यो

पोखरा, असार १२ ।
बजेटमा विभेद गरेको आरोप लगाउँदै पोखरा महानगरपालिकाको रातो किताव काँग्रेसतर्फका जनप्रतिनिधिहरुले च्यातिदिएका छन् । बुधबार नगरसभाको अन्तिम समयमा किताव च्यातेर बाहिरिएका हुन् । ‘पाँचौ नगरसभामा एकलौटी ढंगले बजेटलाई केन्द्रीकृत गर्न लागिएको थियो । पटकपटक वडालाई पनि बजेट दिनुपर्छ भनेर लविङ गरेपछि सामान्य वितरण गरियो । त्यसपछि हामीले समानुपातिक बजेट विनियोजनको माग राख्यौं । पटकपटक मेयरसावलाई भेटेर आफ्ना मुद्धा सुनाएका थियौं । वहाँले पनि हुन्छ हुन्छ भन्नुभयो,’ काँग्रेसतर्फका सचेतक रामराज लामिछानेले भने, ‘अहिले बजेट २ नम्बर क्षेत्रको उपनिर्वाचनलाई केन्द्रीत गरेर वितरण गरियो । १६ र १७ नम्बर वडामा अत्यधिक बजेट छुट्याईएको छ । यो हामीलाई चित्त बुझेन ।’

बजेटबारे काँग्रेसलाई बोल्ने समय समेत नदिएको उनको गुनासो छ । ‘समानुपातिक बजेट नभएपछि विरोध ग¥यौं । हामीलाई बोल्नै दिएनन् । मेयरसावले पास गर्न भन्नुभयो । हामीले संशोधन गर्न भन्यौं । नमानेपछि तुरुन्त सबै किताव च्यातेर मेयरकै सामुन्ने फालिदियौं,’ उनी भन्छन्, ‘त्यसपछि मेयरले योजना माग्न आउलाउ नि भन्नुभयो । यो शब्द तुरुन्त फिर्ता लिनुपर्छ । जनताबाट उठेको करलाई खल्तीको दिएजस्तो गरेर जवरजस्ती गर्ने काम भयो ।’ मेयरले बोलेको शब्द फिर्ता लिनुपर्ने र समानुपातिक बजेट बाँड्नुपर्ने माग राख्दै पोखराका काँग्रेसतर्फका जनप्रतिनिधिहरु आन्दोलित भएका छन् । विहिबार महानगरको मुख्य गेटमै तालाबन्दी गरिदिने उनीहरुको चेतावनी छ ।

विनियोजित बजेटप्रति पूर्ण असहमति रहेको अर्का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले बताए । ‘भेग हेरेर गएको भए २० नम्बर २३ नम्बर वडा सबैभन्दा अविकसित छन् । बरु त्यता धेरै विनियोजन गरेको भए हामी मान्थ्यौं । तर बजेट विकसित त्यो पनि राजनीतिक रुपमा चुनावलाई केन्द्रीत गरेर छुट्याईयो,’ उनले भने, ‘यो चाहीँ हामीलाई सह्य छैन । समानुपातिक वितरण हुनुपर्छ ।’ बजेट नसच्याएसम्म निरन्तर आन्दोलन हुने उनीहरुको चेतावनी छ ।

काँग्रेसको विरोधकै बाबजुत महानगरको बजेट पारित भएको छ । १ सय ७० सदस्य रहेको पोखराको नगरसभामा ४८ जना काँग्रेसका सदस्य छन् भने बाँकी सबै नेकपातर्फका हुन् । यसपालिको बजेट बहुमतले पारित भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले बताए । उनका अनुसार पाँचौ नगरसभा पनि सकिएको छ । ‘मेयरसावले बजेट पारित भएको घोषणा गर्नुभयो । त्यसपछि सबैले तालि बजाए । बजेट त पारित भैहाल्यो नि,’ उनले भने ।

मेयर मानबहादुर जिसीले बजेटमा विभेद नगरेको दावी गरे । ‘समितिमा वहाँहरु नै हुनुहुन्छ । वहाँहरुले नै ल्याएका योजनालाई समेटेर किताव बनाएको हो । अहिले आएर च्यात्नुको के अर्थ छ ?,’ उनले भने, ‘त्यही पनि कतै छुटेका भए समेट्न सकिन्छ, सुझाव दिनुस् भनेकै हो । एक्कासी किताव च्यात्न थाल्नुभयो ।’