पोखरा-दाहसंस्कार गर्ने घाटमा बधशाला !

प्रकाश ढकाल
पोखरा, जेठ २६ ।
पोखरा दोविल्लाका भरत रायमाझीको परिवारमा कसैको निधन हुँदा अन्तिम संस्कार नजिकैको सेती नदी किनारमा हुन्छ । उनको परिवार मात्रै होईन पोखराको निर्मलपोखरी, कृष्तीदेखि स्याङजाको टक्सार, चिलाउनेखर्क, हलेदे लगायतका ठाउँबाट पनि अन्तिम संस्कारका लागि दोविल्ला घाट मै ल्याउने गरेका छन् ।

घाटहरु अब्यवस्थित भएपछि विरौटा, रातोपैह्रादेखिका लाश पनि त्यही घाटमा लैजान्छन् । दोविल्लाघाट त्यस क्षेत्रको पूरानो दाहसंस्कार स्थल हो । ‘सदियौंदेखि चल्दै आएको दाह संस्कार गर्ने घाट हो । पहिले अब्यवस्थित थियो । त्यही ठाउँमा महानगरले बधशाला बनाउन लागेछ,’ रायमाझी भन्छन्, ‘अहिलेसम्म स्थानीयलाई जानकारी नै छैन । धर्म संस्कार मास्न पाईंदैन ।’

उनीहरुको दाह संस्कार घाट नजिकै पोखरा महानगरपालिकाले आधुनिक बधशाला बनाउन लागेको छ । महानगरपालिका र कृषि मन्त्रालको सहकार्यमा बधशाला निर्माणको प्रक्रिया अघि बढेको छ । यसका लागि ५ करोड रुपैयाँ समेत विनियोजन भैसकेको छ । प्रदेशको भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ३ करोड र पोखरा महानगरपालिकाले २ करोड विनियोजन गरेका हुन् ।

पोखरा २१ दोविल्लामा आधुनिक बधशाला निर्माणको लागि समझदारी समेत भैसकेको छ । प्रदेश मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडी र महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले बधशाला निर्माणको समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

शुक्रबार बधशाला निर्माणको लागि जग्गा नापजाँच गर्न ईन्जिनियरको टोली पुगेको थियो । तर स्थानीयले फर्काइदिए । ‘हाम्रो मात्रै होईन, धेरैतिरबाट अन्तिम संस्कार गर्न आउने पवित्र स्थल हो यो । कुनैपनि हालतमा यहाँ बधशाला बनाउन पाईंदैन,’ स्थानीय दोविल्ला टोल विकास संस्थाका अध्यक्ष गौतम गिरीले भने, ‘त्यसैलाई जोगाउन हामीले बृक्षारोपण पनि गरेका छौं । अव प्रतिक्षालय र सार्वजनिक शौचालय बनाउछौं । मन्दिर बनाएर अझै पवित्र ठाउँको रुपमा चिनाउने लक्ष्य छ ।’

शनिवार स्थानीय भेला भएर त्यही ठाउँमा ३ सय विरुवा रोपेका छन् । जिल्ला वन कार्यालयले विरुवा सहयोग गरेको थियो । ‘बधशाला अन्त बनाउन मिल्छ । मरेको मान्छे लिएर जलाउन हामी कहाँ जाऔं ?,’ उनले अघि भने, ‘हाम्रो संस्कार जोगाईदिनुप¥यो । संस्कार मेटाउने हो भने बसाई सर्नुपर्ने भयो ।’ सरोकारवालाहरु चाहीँ घाट नजिकै बधशाला बनाउनु उपयुक्त नहुने तर्क गर्छन् ।

बधशाला निर्माणमा १० करोड लगानी हुने अनुमान छ ।

बधशाला आवश्यक पर्ने जमिन र त्यसको डीपीआर सहित ब्यवस्थापनको जिम्मा महानगरको छ । मन्त्रालयले चाहीँ निर्माणको अनुगमन गरेर सुधारका लागि सुझाव दिनेछ । दोविल्लाको करिब डेढसय रोपनी जग्गामा बधशाला बनाउन लागिएको मेयर मानबहाादुर जिसीले बताए । बधशालाले दाहसंस्कारलाई समस्या नहुने उनको भनाई छ ।

‘१ सय ४५ रोपनी जग्गा छ । २–४ रोपनीमा आधुनिक दाहसंस्कार स्थल बनाउँला,’ उनले भने, ‘बाँकी जग्गामा बधशाला बनाउन समस्या हुँदैन । घाट बन्द गर्न भनेको होईन । घाटको लागि जति चाहिन्छ, त्यो छोडेर बधशाला बनाउने हो ।’ धुलो र धुवाँ रहित आधुनिक दाहसंस्कार स्थल बनाउन महानगरले सहयोग गर्ने उनको प्रतिबद्धता छ ।

यो बधशालालाई प्रदेशकै आधुनिक बनाउन लागिएको छ । खसीबोका र राँगा पाडाको छुट्टाछुट्टै बधस्थल बन्ने छ भने बध गर्नुअघि पशुको स्वास्थ्य परीक्षणको ब्यवस्था मिलाईने छ । हेफर नेपालसँग सहकार्य गरेर बधशाला ब्यवस्थित गरिने मेयर जिसी बताउँछन् । ‘पोखरालाई स्मार्ट सिटी बनाउने भन्छौं । गल्ली गल्लीमा मासु काटिरहेको भेटिन्छ । एकातिर मासु अस्वस्थ हुन्छ । अर्कोतिर दुर्गन्ध,’ उनी भन्छन्, ‘जसरी पनि ब्यवस्थित बधशाला बनाउनै पर्छ । यसमा पोखराको पहिचान पनि जोडिएको छ ।’

डीपीआर तयार नभएकोले लागत स्टिमेट एकीन गरिएको छैन । यद्यपी १० करोड हाराहारीमा खर्च हुने अनुमान छ । यसका लागि चालू बर्षभित्रै टेण्डर निकालिने महानगरले जनाएको छ । बधशाला निर्माणको अध्ययन गर्न भारतीय विज्ञहरुले गरिरहेका छन् । सरकारी लगानीमा बधशाला निर्माण गरिएपनि सञ्चालनको जिम्मा चाहीँ निजी क्षेत्रलाई दिने तयारी छ । तर महानगरले यसको कानुन भने बनाईसकेको छैन ।

यसअघि पनि पटक पटक बधशाला निर्माणको बहस चलेको थियो । साविकको जिल्ला पशु सेवा कार्यालयले बजेट नै विनियोजन गरेपनि बधशाला बनाउन सकेन । पोखरा १५ मा रहेको जग्गामा बधशाला बनाउन धेरै पटक सिफारिस गरिएपनि प्रक्रिया नै सुरु नभई धेरै पटक तुहिएको छ । तत्कालीन पोखरा उपमहानगरपालिकाको १७ औं नगरपरिषदले नगरक्षेत्रमा ब्यवस्थित बधशाला निर्माण गर्ने योजना पारित गरेपछि यसको बहस सुरु भएको हो ।

आर्थिक बर्ष २०७०÷७१ देखि सम्भाव्यता अध्ययन गरेर बधशाला बनाउन थाल्ने तयारी थियो । व्यवस्थित बधशालाको अभावमा पोखरामा बध गरी बिक्री हुने मासु अस्वस्थकर भएको गुनासो आएपछि नगरपालिकाले २०६८ सालमा निर्देशिका नै जारी गरेको थियो । निर्देशिका कार्यान्वयन चाहीँ हालसम्म भएन । व्यवसायीहरुले आफ्नै हिसावले पशु बध गरि मासु विक्रि वितरण गर्दै आएका छन् ।

पशु बध गरेको २४ घण्टापछि मात्रै मासुको रुपमा उपभोग गर्नु उपयुक्त हुन्छ । खसी तथा कुखुरा मासु व्यवसायी समितिको तथ्यांक अनुसार पोखरामा दैनिक ३० हजार केजी कुखुराको मासु विक्री हुन्छ भने खसी एवं अन्य गरी १० हजार केजी भन्दा बढी मासु विक्रि भैरहेको छ । अहिले पोखरामा करिब १ हजार ५ सय हाराहारीमा मासु पसल सञ्चालित छन् ।