पोखरा उद्योग बाणिज्य संघमा सदस्य थप, विधि नपुगेको भन्दै ‘नोट अफ डिसेण्ट’

पोखरा, माघ २९ ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले कार्यसमितिमा ४ जना सदस्य थप गरेका छन् । उनले त्रिएक इन्भेष्टमेण्ट कम्पनी प्रालिका ऐनकुमार साई, आँधिखोला मेडिकल हलका रामबहादुर केसी, कुटी रिसोर्ट प्रालिका देवेन्द्र केसी र प्रसिम एग्रो फार्म हाउसका शिवराज आचार्यलाई सदस्यमा मनोनयन गरेका हुन् ।

तर कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुले चाहीँ विधि र परम्परा विपरित सदस्य मनोनयन गरिएको भन्दै नोट अफ डिसेण्ट (लिखित असहमति) लेखेका छन् । बैठकमा छलफल हुनुपर्ने विषय तोकी एक दिन अगाडी नै सुचित गर्नुपर्नेमा बिना एजेण्डा विविध बिषयमा सदस्य थप गरेको उनीहरुको आरोप छ ।

‘नोट अफ डिसेन्ट’ मा महासचिव अर्जुन पोखरेल सहित संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइराला, उद्योग उपाध्यक्ष विन्दु कोइराला सुवेदी, वाणिज्य उपाध्यक्ष पवनकुमार प्रजापति, कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे, उपमहासचिव चिनुकुमारी गुरुङ, कार्यसमितिका सदस्यहरु कुुमारी मुना बास्तोला, केशवबहादुर खत्री, दीनेशचन्द्र बास्तोला, बलराम आचार्य, ऋषिराज शर्मा भण्डारी, रामेश्वर अधिकारी, किर्तिबल्लभ त्रिपाठी, हर्कबहादुर अधिकारी, हरिहर सापकोटा र हरिराज पन्तसहित १६ जनाले हस्ताक्षर गरेका छन् ।

संघको हालको कार्यसमिति निवर्तमान अध्यक्षसहित २५ सदस्यीय छ । पोखरेलका अनुसार कार्यसमिति सदस्य सुरेशबहादुर श्रेष्ठ हाल पोखरा बाहिर भएकाले पोखरा आएपछि हस्ताक्षर गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष अधिकारीले विधानले दिएको अधिकार प्रयोग गरेरै सदस्यहरु मनोनित गरेको बताए । ‘एकथरी साथीहरुमा चुनावी ह्याङ र बहुमतमा छौं भन्ने दम्भ छ । विधानले कार्यसमिति गठन सम्बन्धी स्पष्ट ब्यवस्था गरेको छ । त्यही विधानमा टेकेर हामी सबै निर्वाचित भएका हौं, उनले भने–हिजो निर्वाचनमा चाहीँ विधान मान्ने । अहिले त्यही विधानको अधिकार मैले प्रयोग गर्दा नोट अफ डिसेण्ट लेख्नुपर्ने ?’

बैठकमा एजेण्डाको रुपमा लानुपर्ने बिषय नभएकोले विविध शीर्षकबाट बैठकमा लगेको उनले बताए । ‘मैले निर्वाचन सकिएकै दिनमा मनोनयन गरेको भएपनि हुन्थ्यो । बैठकमा लानुपर्ने बिषय हैन । कार्यसमितिले पास गर्नुपर्ने हैन, उनले थपे–अरु कार्यसमितिको हैसियत बराबर अहिलेको मनोनित सदस्यको पनि हो । वहाँहरुले आफुले भनेको मान्छे नआएपछि विरोध जनाउनुभयो ।’ मनोनित सदस्यहरुको केही दिनमा शपथ हुने अधिकारीले जानकारी दिए ।

महासचिव अर्जुन पोखरेलले अध्यक्षको अधिकार भएपनि समन्वय गर्नुपर्ने बताए । ‘निर्णयप्रति हाम्रो असहमति होईन । तर पदाधिकारी र कार्यसमितिमा छलफल गराउँदा के जान्थ्यो र ?, उनले भने–संघ यस्तो बिषम परिस्थितिमा गुज्रिरहेको छ । सबैको साथ र सहयोग भएन भने काम कसरी अगाडी बढ्छ ?’ मनोनित ब्यक्तिहरु प्रति आफ्नो असहमति नरहेको तर पद्धतीको अवमुल्यन भएकोप्रति असहमति जनाएको उनी बताउँछन् ।

‘यसअघिको बैठकबाट प्रदेश उद्योग बाणिज्य संघ हटाउने निर्णय गर्दा अध्यक्षले नै नोट अफ डिसेण्ट लेख्नुभयो । संघलाई धु्रविकरण गर्ने बाटोमा वहाँ लाग्नुभएको छ, पोखरेल भन्छन्–महत्वपूर्ण निर्णय गर्दा एक दिन अगाडी खवर गर्नुपर्ने ब्यवस्था त विधानमै छ नि । ४ जना सदस्य थप गर्ने कुरा महत्वपूर्ण हैन ? अनि हामीलाई खवर गर्नु पर्दैन ?’ पछिल्लो समय उद्योग बाणिज्य संघका निर्णयहरुमा पनि आस्थाका आधारमा फरक मत देखिन थालेका छन् । एकले गरेको निर्णय अर्कोले नमान्ने परिस्थिति सिर्जना भएको पूर्व अध्यक्षहरु बताउँछन् ।

यसैगरी, कार्यसमितिको बैठकले संघको दैनिक कार्य सम्पादनको लागि विभिन्न उपसमिति गठनका साथै संघको तर्फबाट संस्थागत प्रतिनिधित्व हुने सरकारी निकाय÷विभिन्न संघ संस्थाका लागि आधिकारिक प्रतिनिधि पनि चयन गरेको छ ।