पोखरा आएर पौडेलले भने–तातोपानीमा पौडी खेलेर एकता हुँदैन

पोखरा, फागुन २६ ।
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तातोपानीमा नुहाउँदैमा एकता नहुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीका नव निर्वाचित कार्यसमितिलाई बधाई दिन काँग्रेस कास्कीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भावनात्मक रुपमा एकता नभएको बताएका हुन् ।

‘एकता त्यत्तिकै हुँदैन । हामी एक भयौं भन्दैमा एकता हुने होईन । तातोपानीमा पौडी खेलेर एकता हुन्छ ?, उनले भने–तातोपानीमा सँगसँगै डुब्यो भन्दैमा एकता भयो भनेर प्रचार गर्नुपर्दैन । एजेण्डामा एकता हुनुप¥यो । ईस्युमा एकता हुनुप¥यो । बिषयबस्तुमा एकता हुनुप¥यो नि ।’ पौडेल र काँग्रेस सभापति शेरबहादुर देउवाले शनिवार म्याग्दीमा रहेको तातोपानी कुण्डमा सँगै नुहाएका थिए । त्यसको भोलिपल्टै उनले पौडी खेल्ने कुरालाई एकतासँग नजोड्न कार्यकर्तालाई आग्रह गरेका हुन् ।

राजनीतिमा स्थायी शत्रु र मित्रु नहुने भन्दै उनले स्थायी स्वार्थ रहिरहेसम्म एकता कायम हुन नसक्ने बताए । ‘स्वार्थ बाझिने बेलासम्म एकता हुँदैन । पार्टीभित्रको अनुशासन समिति र निर्वाचन समिति स्वातन्त्र छैनन्, पौडेल भन्छन्–नाम सुन्ने वित्तिकै यि दुवै न्यायिक समिति हो । न्यायलय निष्पक्ष हुनुपर्छ । पक्षपाती भए जनताले न्याय पाउँदैनन् ।’

पार्टीको सुधारका लागि आँफुले तिथी मिति सहित महाधिवेशनको कार्यतालिका दिएको भन्दै उनले कार्यतालिका अनुसार महाधिवेशनको तयारी गर्न आग्रह गरे । पौडेलले सिके राउतसँग सरकारले गरेको सम्झौता पारदर्शी हुनुपर्ने बताएका छन् ।

देशमा हत्या, हिंसा र बलात्कारका घटना दिनहूँ बढिरहेको भन्दै उनले सरकार सबै हिसावले फेल भैसकेको टिप्पणी गरे । ‘दिनहुँ बलात्कारका घटना छन् । दिउँसै बन्दुक पड्किन थालिसक्यो । निर्दोष नागरिक मारिन थाले, उनी भन्छन्–न्यायलय र अख्तियारमा सरकार हावी छ । सही न्याय जनताले पाएनन् ।’