पोखरा अन्तराष्ट्रिय विमानस्थलालाई ‘रवीन्द्र विमानस्थल’ नामाकरण गर्न माग
पोखरा, फागुन १९ ।
पोखराका पर्यटन व्यवसायीले निर्माणाधीन पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तराष्ट्रिय विमानस्थल’ नामाकरण गर्न आग्रह गरेका छन् ।
फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी एक विकासप्रेमी र पर्यटनका बारेमा स्पष्ट सोच भएका लोकप्रिय युवा नेता भएको भन्दै उनको सम्मानमा निर्माणाधीन विमानस्थलको नामाकरण गर्न पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।
विज्ञप्तिमा अधिकारीले पोखराको क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण प्रक्रियालाई अगाडि बढाउन, संसदीय सार्वजनिक लेखा समितिको सदस्य, विकास समितिको सभापति हुदैँ विमानस्थल निर्माण उच्चस्तरीय समितिको संयोजक भई कुशलतापूर्वक भूमिका निभाउनुभएको र पछिल्लो समय संस्कृति पयर्टन तथा नागरिक उडड्यनमन्त्री भएर अझ विशेष भूमिका खेलेको उल्लेख छ ।
रवीन्द्र विमानस्थल नामाकरण गर्नका लागि सामाजिक सञ्जालहरुमा पनि दवाव दिईएको छ । फेसबुक, टुईटर लगायत सामाजिक सञ्जालमा विमानस्थलको नाम रवीन्द्र राख्न माग राखिएको हो ।