पोखरामा १६ करोडको लगानीमा रिसोर्ट बन्यो

पोखरा, चैत २४ ।
पर्यटकीय नगरी पोखरामा १६ करोड रुपैयाँको लागतमा रिसोर्ट सञ्चालनमा आएको छ । युवा व्यवसायी विनोद गुरुङले पोखरा महानगरपालिका–२९ भण्डारढिकमा ‘सेभेन लेक्स रिसोर्ट’ सञ्चालनमा ल्याएका हुन् ।

रिसोर्टको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै मन्त्री लम्सालले पर्यटन उद्योगमा भएको स्वदेशी लगानीलाई प्रदेश सरकाले संरक्षण गर्ने बताए । ‘पर्यटन क्षेत्रमा आइपर्ने समस्याले स्वदेशी लगानीकर्ता टाट पल्टने अवस्था आउन हुँदैन,’ उनले भने, ‘राज्यका कारण कुनै पनि पर्यटन व्यवसायीलाई अप्ठ्यारो पर्ने छैन ।’

मन्त्री लम्सालले पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि स्थानीय होटल तथा रिसोर्टमा आन्तरिक र बाह्य पर्यटकले भरिभराउ हुने दाबी गरे । ‘पोखरा सम्भावनाको शहर हो,’ उनले भने, ‘त्यसमा पनि अन्तराष्ट्रिय विमानस्थल निर्माण हुँदैछ । त्यो देखेर पनि विदेशी ठूला लगानीकर्ताले झण्डै २ सय होटलमा लगानी गर्न ठाउँ खोजिरहेका छन् ।’

लगानी सम्मेलनमा आएका चिनियाँले पर्यटन उद्योगमा लगानीका लागि ठाउँ खोज्दै पोखरासम्म आइपुगेको समेत उनले बताए । रिसोर्टका सञ्चालक गुरुङले ७ सय २५ मिटर अग्लो डाँडामा प्राकृतिक स्वरुप नबिग्रने गरी रिसोर्ट निर्माण गरेको बताए ।

‘रिसोर्टबाट मनोरम हिमशृंखला, बेगनास तथा दिपाङ ताल र पोखरा उपत्यकाको दृश्यावलोकन गरी पर्यटकले आनन्द प्राप्त गर्न सक्छन्,’ उनले भने, ‘लेखनाथ क्षेत्रमा पर्यटक बढाउन रिसोर्टले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छु ।’ गुणस्तरीय खानाका साथ स्वदेशी तथा विदेशी परिकार उपलब्ध हुने गुरुङले बताए । रिसोर्टमा फेमिली डिलक्स, डिलक्स डबल र सुपर डिलक्स गरी सुविधा सम्पन्न १९ वटा कोठा रहेको गुरुङले बताए ।

रिसोर्टमा वातानुकुलित सेमिनार हल, रेस्टुरेन्ट तथा बारसहित आरामदायी स्विमिङ पुलको सुविधा समेत रहेको छ । रिसोर्टमा प्रत्यक्ष रुपमा अहिले ३० र अप्रत्यक्ष रुपमा १ सय जनाले रोजगारीको अवसर पाएको गुरुङले बताए ।