पोखरामा सार्वजनिक जग्गा मिचेर जनप्रतिनिधीको घर !

पोखरा, भदौ २४ ।
पोखरा महानगरपालिका वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारले सार्वजनिक जग्गा मिचेर घर निर्माण गरेकी छिन् । आफ्नै वडाको फिर्के खोला आडमा विना स्विकृती पक्की घर निर्माण गर्न लागेकी हुन् । उनी वडा नम्बर ४ बाटै काँग्रेसतर्फबाट दलित महिला सदस्य पदमा निर्वाचित भएकी थिईन् । उनले अवैध हिसावले घर निर्माण गर्न लागेपछि केही स्थानीयहरुले वडा र महानगरलाई उजुरी समेत गरेका छन् । ‘पोखरा ४ स्थित टुँडाकोपाटनमा रहेको सुकुम्बासी बस्तिमा बस्ने विष्णुमाया परियारले स्काउटको जग्गा मिचेर घर बनाउन थालेकी छिन्, उजुरीमा भनिएको छ–पदको दुरुपयोग गरी जनप्रतिनिधीले नै मनपरी गरेपछि जनताले कानुन मान्ने कि नमान्ने ? त्यसैले तत्काल कडा कारबाही गरियोस् ।’

वडामा उजुरी परेपछि वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले निर्माण कार्य रोक्नका लागि परियारलाई पत्र पठाएका छन् । ‘तपाईंले विना इजाजत सार्वजनिक जग्गामा निर्माण कार्य गर्न लाग्नु भएको भनि वडामा उजुरी पर्न आएकोले निर्माण कार्य तत्कालै रोक्का राखि प्रमाण सहित दुई दिनभित्र उपस्थित हुनुहोला, बास्तोलाले पठाएको पत्रमा भनिएको छ–समयमै उपस्थित नभए कानुन अनुसार कारबाही हुने जानकारी गराईन्छ ।’ वडाध्यक्षको पत्रपछि पनि परियारले अटेर गरी घर बनाउन रोकेकी छैनन् ।

२१ गते परियारलाई पत्र काटेपनि अटेर गरेपछि महानगरलाई जानकारी गराईएको अध्यक्ष बास्तोलाले जानकारी दिए । वडाको कुरा हामी बसेर मिलाउने भनेका हौं । तर वहाँले वडाध्यक्षकै पत्रलाई अटेर गर्नुभयो, बास्तोलाले भने–त्यसपछि सार्वजनिक जग्गा संरक्षणका लागि महानगरमा पत्र पठाएको हो । जनताले गलत काम गरेर सम्झाउनुपर्ने जनप्रतिनिधीले आफै अवैध काम गर्छन् भने कारबाही भोग्नुपर्छ ।’ उनका अनुसार परियार सहित फिर्के आडमा निर्माणाधीन सगरमाथा स्कुल, स्थानीय गणेश कतिला, शालिग्राम घिमिरे र महेश्वर कपालीले निर्माण गरेका घरहरु अवैध र मापदण्ड विपरित भएको भन्दै आवश्यक कारबाहीका लागि महानगरमा पत्र पठाईएको हो ।

वडा सदस्य परियारले चाहीँ मापदण्ड नमिचेको दावी गरेकी छिन् । ‘खोलामा तोकेको भन्दा बढी जग्गा छोडेको छु । सार्वजनिक जग्गा पनि मिचेको छैन । बनाउँदा एकदुई हात एताउति भएको होला तर स्काउटले चिन्ह लगाएको भन्दा भित्र पसेको छैन, उनले भनिन्–सुकुम्बासी आयोगले दिएको पत्रका आधारमा घर बनाएको हो । ओरिजिनल पुर्जा त छैन । २०४८ देखि यही जग्गामा बस्दै आएको छु ।’ पोखराका मेयर मानबहादुर जिसीले जनप्रतिनिधीले गलत काम गर्न नहुने बताए । ‘जनतालाई सिकाउनुपर्ने मान्छे आफै गलत गर्नु झन् ठूलो अपराध हो, उनले भने–ऐन कानुन कार्यान्वय गर्नेले मिच्न कहाँ मिल्छ ?’ गलत गरेको भेटिए कानुन अनुसार कारबाही हुने उनी बताउँछन् । महानगरको नगरप्रहरीले आईतबार स्थलगत अध्ययन गरिसकेको छ ।

File Photo