पोखरामा सरकारी गाडी जलाएको आरोपमा नेविसंघका ५ जना पक्राउ

पोखरा, माघ १९ ।
शनिबार विहान पोखरामो मासबारमा सरकारी गाडी जलाएको घटनाको जिम्मा नेविसंघले लिएको छ । नेविसंघ कास्कीका निवर्तमान सभापति विकास थापाले विज्ञप्ती जारी गरि घटनाको जिम्मा लिएको जनाएका छन् । विदाको दिन सरकारी गाडी चलाउन नदिने केन्द्रिय कार्यक्रम भएकोमा शनिबारको दिन पनि सरकारी गाडी गुडिरहेको देखेपछि नेविसंघले गाडी जलाएको उनले बताए ।

उनीहरुले पेट्रोल छर्केर गाडी आगजनि गरेका थिए । पोखरा महानगरको शिक्षा शाखाले प्रयोग गर्दै आएको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यानलाई आगो लगाईदिएका थिए ।

आगजनिमा संलग्न ५ विद्यार्थी नेतालाई कास्की प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले लेकसाइड स्थित एक होटलबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ । नेविसंघ नेता परशुराम बस्नेत, लक्ष्मी प्रसाद पौडेल, नेविसंघ पोखरा विश्व विद्यालय पूर्व सभापति राजेन्द्र बराल, वर्तमान सभापति डिफान भुजेल र ला–ग्राण्डि कलेजका सभापति विनय पौडेललाई पक्राउ गरिएको हो ।

लेकसाइडमा रहेको होटल रिदमको कोठा नं. १०२ बाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट बा ५६ प ३४८६ नं.को मोटरसाइकल, ग १४ प १७२९ र ग ८ प १६८९ नं को स्कुटर नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । उनीहरुमाथी अनुसन्धान चलिरहेको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।