पोखरामा फेरि निशुल्क ट्याक्सी ! (पूरा पढ्नुहोस्)

पोखरा, चैत १७ ।
केही बर्षअघि पोखरामा एउटा गज्जवको समाचार आएको थियो, भूकम्प पीडितलाई निशुल्क ट्याक्सी सेवा । ५० दिनसम्म यो सेवा चलाए पोखरा रामबजारका चेतबहादुर आलेले । त्यसपछि अघिल्लो बर्ष उनले अर्को समूहलाई पनि निशुल्क ट्याक्सी सेवा दिए, बृद्धबृद्धालाई ।

१ सय ५ दिनजति उनले पोखराका विभिन्न ठाउँमा जेष्ठ नागरिकलाई निशुल्क रुपमा ल्याउने लाने काम गरे । अहिले उनै आलेले दृष्टीविहिनहरुका लागि निशुल्क ट्याक्सी चलाउन लागेका छन् । यो काम केही दिनपछि सुरु हुने उनले सुनाए ।

ट्याक्सी चालकले ठगे । बढी पैसा लिए । मिटरमा गुड्न मान्दैनन् । फेला परेको सामान लुकाए भन्ने धेरै गुनासो प्रहरीमा पुग्छ । तर यही भीडमा आलेले चाहीँ निशुल्क समाजसेवा गर्दै आएका छन् ।

यही कामका कारण उनको ट्याक्सी नं. ग १ ज ४९०९ को चर्चा झन् बढेको छ । ट्याक्सीमा धेरैले आफ्ना सन्तानको नाम, बुबाआमाको आर्शिवाद र मन्दिर, कुलदेवताको नाम लेखिएको देखिन्छ । यस ट्याक्सीमा भने लेखिएको छ–‘५० दिन भूकम्प पीडित, १०५ दिन बृद्धबृद्धाको निःशुल्क ट्याक्सी सेवा पछि अब आउने दिन नेत्रहीनको लागि (पोखरा भित्र) ।’

उनको कामको सामाजिक सञ्जालमा धेरै प्रशंसा भैरहेको छ । लेखक उपेन्द्र पौडेलले ट्याक्सीको फोटो फेसवुकमा हालेर मानवता अझै जीवित रहेको टिप्पणी गरे । स्याङजाको वालिङ घर भई पोखराको रामबजार बस्दै आएका आलेले समाजसेवाकै लागि निशुल्क ट्याक्सी चलाएको बताए ।

‘भूकम्प आउँदा हेलिकोप्टरले घाईते ल्याउँथ्यो । हामी ट्याक्सी चालकहरु खाद्यान्न सहयोग गरौं भनेर अस्पताल गयौं । त्यहाँ घाईतेहरु छटपटाएको देखेपछि मनमा सेवा गर्ने भावना पलायो, उनले डिएनएसँग भने–त्यसपछि एयरपोर्टमा ल्याएर हेलिकोप्टरले छोडेका विरामी अस्पताल पु¥याउन थालें । त्यो समय सकियो, पछि मैले बाटोमा हिड्ने बृद्धबृद्धाको समस्या पनि उस्तै लाग्यो । उनीहरुलाई पनि निशुल्क रुपमा लाने ल्याउने गरें ।’

पहिले गरिसकेपछि अहिले पनि दृष्टीविहिनलाई सेवा गर्ने भावना पलाएको उनले सुनाए । ‘कामले काम सिकाउने रछ । पहिले २ पटक सेवा गरिसकेपछि तीनपटक किन नपु¥याउने भन्ने लाग्यो, उनी भन्छन्–दृष्टीविहिनहरु हिड्दा साह्रै मन दुख्यो । अनि उनीहरुको सेवा गर्ने घोषणा गरेको हुँ ।’

आले केही बर्ष भारतीय सेनामा काम गरेर फर्किएका हुन् । पछि २२ बर्षसम्म खाडी मुलुकहरुमा गएर काम गरे । उमेरले ५० नाघिसकेका उनले ८ बर्षअघि ट्याक्सी किनेर पोखरामा गुडाउन थालेका हुन् ।