पोखरामा पर्यटक बसपार्क बन्दै

प्रकाश ढकाल
पोखरा, पुस १३ ।
पोखरामा स्तरीय बसपार्क निर्माणको काम अघि बढेको छ । पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले बसपार्क निर्माणका लागि टेण्डर आह्वान गरिसकेको छ । ७ करोड रुपैयाँमा बसपार्कको टेण्डर निकालिएको विभागले जनाएको छ । सूचनाअनुसार माघ १३ गतेसम्म ईच्छुक कम्पनीले आवेदन बुझाईसक्नुपर्नेछ । टेण्डर आह्वानसँगै पोखरेलीको २ दशकदेखिको सपना पूरा हुन लागेको छ । २१ बर्षअघि देखि पोखरा उपत्यका नगरविकास समितिको नाममा रहेको जग्गामा अस्थायी बसपार्क सञ्चालन हुँदै आएको थियो । समितिको नाममा रहेको करिब १६ रोपनी जग्गामा बसपार्क निर्माणको तयारी गरिएको छ ।

२१ बर्षअघि २०५४ सालमा रमेशबहादुर भट्टराईको पालामा अस्थायी बसपार्क सञ्चालनका लागि यही जग्गा पोखरा होटल ब्यवसाय समितिलाई दिने निर्णय भएको थियो । भ्रमण बर्ष सफल बनाउन अस्थायी रुपमा दिईएको जग्गामा होटल समितिले १७ बर्षसम्म निशुल्क बसपार्क चलायो । पछि ब्यवस्थित गर्ने भन्दै नगर विकास समितिले नै २०७१ सालमा ठेक्कामा दिएको छ । बिष्णुप्रसाद बास्तोलाको पालामा मासिक ५० हजार रुपैयाँ समितिलाई बुझाउने गरि पोखरा सेण्टर लिजिङ प्रालिसँग सम्झौता भएको थियो । अहिले यसको भाडा बढेर ६३ हजार पुगेको छ । प्रत्येक २ बर्षमा १० प्रतिशतका दरले बृद्धी हुने गरि १० बर्षका लागि दिईएको ठेक्का अझै ६ बर्ष बाँकी छ । कम्पनीले बसपार्कमा पार्किङ गरिएका गाडीबाट शुल्क उठाएर खर्च चलाउँदै आएको छ ।

समितिसँग समन्वय नै नगरि बसपार्क निर्माणको टेण्डर निकालिएको भन्दै उपत्यका नगरविकास समिति र सम्बन्धित ठेकेदारले असहमति जनाएका छन् । कम्पनीका ठेकेदार राम अधिकारीले समन्वय नगरी ठेक्का प्रक्रिया थालिएको बताए । ‘समितिसँग १० बर्षको एग्रिमेण्ट हो । टेण्डर भनेको सुनिएको छ । समन्वय नगरिकन के गरेको हो थाहा छैन, उनले भने–हामीसँग सम्झौता छ । मासिक रुपमा पैसा तिरिरहेका छौं । बनाउने बिषयमा विरोध होईन । तर मनपरि गर्न पाईंदैन । समन्वय नभए अदालत जान्छौं ।’ कम्पनीले बसपार्कको खाल्डाखुल्डी पुर्ने र अन्य संरचनाहरु निर्माण गरेको उनले बताए ।

नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले आँफुखुशी टेण्डर निकाल्न नपाईने बताए । ‘म पनि अन्यौलमा छु । सम्पत्ति हाम्रो नाममा छ । उपभोग अरुले गर्न न मिल्दैन होला नि, उनले भने–उपत्यका नगर विकास समिति विकासको बाधक बन्दैन । तर सिस्टम त सरकारले पनि फलो गर्नुपर्छ । एउटा संस्थाको नाममा लालपुर्जा हुने र अरुले समन्वय नै नगरिकन आँफुखुशी अगाडी बढाईदिने त राम्रो होईन नि ।’ उनले बोर्ड बैठक बसेर अघि बढ्ने बताए ।

पर्यटन मन्त्री रवीन्द्र अधिकारीले चाहीँ सरकारको जग्गा भएकाले कसैसँग सोध्नुनपर्ने बताए । ‘सरकारको जग्गा हो । माथी नै समन्वय भएको छ । खारेज हुँदै गरेको संस्थासँग किन सोध्नुपर्यो ?, उनले भने–अहिले सम्बन्धित संस्था नगरपालिका हो । हामीले नगरपालिकासँग पनि कोअर्डिनेसन गरेका छौं ।’ उनका अनुसार ७ करोड रुपैयाँमा टेण्डर निकालिएको जानकारी दिए । पोखरा ७ राष्ट्रबैंक चोक नजिक रहेको पर्यटन बसपार्क निमार्ण हुने भएको छ । पर्यटन विभागले पर्यटन बसपार्क बनाउन लागेको हो । लामो समयदेखि पर्यटन बसपार्क निर्माणको लागि पहल भएपनि काम हुन सकेको थिए । पर्यटन ब्यवसायी र सरोकारवालाहरुले पटक–पटक स्तरीय पर्यटक बसका लागि बसपार्क निर्माणको माग गर्दै आएका थिए ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पर्यटन विभागबाट टेण्डर आह्वान भएको बताए । उनले नगरपालिकासँग समन्वय भैरहेकोले सोही अनुसार काम अघि बढ्ने बताए । ‘हामीले डिपिआर गरेर पठाएका छौं । विभागले टेण्डर निकालेको छ । अव ठेकेदार छनौट गरेर निर्माणको काम अघि बढ्छ, जिसीले भने–स्तरीय बसपार्क हो । स्मार्ट खालको बन्छ । बसपार्क भित्र बजार ब्यवसाय हुँदैन ।’ बसपार्कमा गाडी राख्दा पैसा तिर्ने ब्यवस्था मिलाउने उनले बताए । भौतिक संरचना स्तरीय बनाएर पोखरालाई सहाउँदो बसपार्क बन्ने उनी बताउँछन् । बसपार्कभित्र स्तरीय शौचालय, प्रतिक्षालय सहित अन्य संरचनाहरु ब्यवस्थित गरिनेछ ।