पोखरामा नगरप्रहरीको दादागिरी !

पोखरा, साउन ९ ।
पोखरा महानगरपालिकालाई ६ बर्षअघि नै ठेला र डोको मुक्त नगर घोषणा गरिएको छ । केही ठाउँमा बजार नै स्थापना गरेर फुटपाथमा हुने ब्यापार रोकिएको थियो । महानगरले उपयुक्त कारबाही गर्न नसक्दा अहिले डोके ब्यापार महानगरभित्र निकै बढेको छ ।

पछिल्लो समय महानगरले अनुगमनको नाममा खटाएका प्रहरीहरुले जवरजस्ती सामान खोस्ने गरेको गुनासो बढेको छ । चोकमा ब्यापारका लागि डोको लिएर बसेकाहरुलाई नगरप्रहरीले जवरजस्ती तान्ने र सामान पोको पारेर महानगर लैजाने गरेको हो ।

अनुगमन सहि भएपनि नगरप्रहरीको ब्यवहारप्रति डोको ब्यापारीको गुनासो छ । ‘हामी पनि ज्यान पाल्नै पर्यो । पसल खोलौं भने भाडा तिर्ने पैसो छैन, यसरी हिड्दा नगरप्रहरीको डर, एक ब्यापारीले भनिन्–प्रहरीले पनि विभेद गर्छ, आफ्ना नजिकका मान्छेलाई जहाँ ब्यापार गरेपनि केही गर्दैन, नचिनेको परे लुछेर लैजान्छ ।’

प्रहरीले लुछेर लगेको सामान जरिवाना तिरेपछि फिर्ता हुन्छ । १ सयदेखि २ हजार रुपैयाँसम्म जरिवाना लिने गरेको महानगरले जनाएको छ । समातेका सामान फिर्ता दिँदा पनि डोके ब्यापारीलाई प्रश्रय मिलिरहेको छ । अर्कोतर्फ सही अनुगमन पनि हुन सकेको छैन ।
तश्विर–अनमोल शर्मा