पोखरामा तारका गुजुल्टा हट्दै, जोखिम टर्दै

पोखरा, पुस ३ ।
सिद्धार्थ चोकका सुमन थापा घर अगाडिझन्डिएको तारको गुजुल्टो हटे पछि दङ्ग छन् । ‘घर अगाडितारको गुजुल्टो कुनदिनदुर्घटनाहुने हो भन्ने लागि रहन्थ्यो,’उनले भने, ‘नचाहिने तार हट्यो । अब जोखिम पनि कम भयो ।’

यस्तै, सिद्धार्थ चोककै इन्द्र पौडेल पनि घर अगाडिको नचाहिने तार हटे पछि खुसि छन् । ‘महानगरले राम्रो कामको सुरुवात गरेको छ,’उनले भने, ‘घर अगाडि नै तारको गुजुल्टो । डरै डरमाबाँच्नु पर्ने ।’

बिहीबारदेखि महानगरपालिकाले अनावश्यक तारका गुजुल्टो हटाउँन सुरु गरेको हो । मेयर मानबहादुर जिसीले तार काटेर तार हटाउने योजनाको सुरुवात गरेका थिए । पहिलो चरणमा सिद्धार्थ चोक हुँदै बिपीचोकबाट सभागृह हुँदै नयाँबजार र सिर्जनाचोक, हल्लनचोेकमा तार व्यवस्थित गर्ने महानगरको योजना छ ।

महानगरपालिकाका सुचना अधिकारी गंगालाल सुवेदीले योजना अनुरुप काम छिटो हुन नसकेको बताए । ‘तारका गुजुल्टा बेरिएका छन,’ उनले भने, ‘त्यसैले पनि हटाउन समय लागेको छ । जोखिम पनि उत्तिकै छ ।’ तार हटाउन सुरु गरेपछि नगरवासी नगरपालिकाप्रति सकारात्मक भएको उनको भनाई छ ।

महानगरमा नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, एनसेल सहित बाराही इन्टरनेट, टेलनेट प्रा.लि. इन्टरनेट सेवाप्रदायक संस्था, नेपाल टेलिकम, केबल व्यवसायी लगायतका संस्थाहरु सहित मंगलबार बसेको बैठकले तार व्यवस्थापन गर्न सहजिकरण समिति गठन गरेको थियो ।

पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, महानगरका प्रशासकीय प्रमुख अधिकृत शेषनारायण पौडेल सहित बसेको बैठकले महानगरका उपसचिव तथा सूचना अधिकारी गंगालाल सुवेदीको संयोजकत्वमा तार सहजिकरण समितिगठन गरेको थियो । तार व्यवस्थापनको राम्रो विकल्प अन्डर ग्राउन्ड नै भए पनि महानगरले हाललाई विकल्पको रुपमा अनावश्यक तार हटाउँन सुरु गरेको हो ।