पोखराको होर्डिङ बोर्ड प्रकरण–‘मेयरले अबैध काम गरेको कांग्रेसको आरोप

पोखरा, कार्तिक १६ ।
केही समयअघि पोखराका आदर्श समाज दैनिक र डिएनए नेपाल डटकममा पोखराको होर्डिङ बोर्डमा भएको अनियमितता बारे समाचार प्रकाशन भयो । त्यसैलाई समातेर नेपाली काँग्रेसका वडाध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै अनियमित रुपमा भएको सम्झौता तत्काल खारेज गरेर नयाँ ब्यवस्थामा जान चेतावनी दिएका छन् ।

महानगरमा नेपाली कांग्रेसतर्फका दलका नेता तथा सचेतक रामराज लामिछानेले साउन १ गतेदेखि डिजिटल होडिङ बोर्डमा जानुपर्नेमा पूरानै सम्झौतालाई निरन्तरता दिनु अवैध भएको आरोप लगाए । मेयर मानबहादुर जिसीले प्रचलित ऐन, नियमलाई लत्याएर एकलौटी ढंगबाट गरेको निर्णय खारेजी गर्न उनले माग गरेका छन् ।

पोखरा महानगर २, ३, ४, ६, ९, १०, ११, १२, २३, २७ र ३२ का वडाध्यक्षले बिहीबार यसबारे विज्ञप्ति निकालेर आपत्ति जनाएका हुन् । बिना जानकारी २०७५ भदौ २६ गते सूचना प्रकाशित गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज १५ को परिपत्र र नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्थाको सूचना अनुसार २०६७ सालदेखि नै लेखा व्यवसायी फर्म उक्त संस्थामा आवद्ध भएको हुनुपर्ने तर सूचीकृत गर्न नपर्नेमा नीति, नियम विपरीत कार्य भएकोमा खेद व्यक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

महानगरले पोखरा उद्योग वाणिज्य संघसँग एकलौटी ढंगबाट कार्यपालिका सदस्यलाई जानकारीसमेत नदिई गरिएको सम्झौता रद्द गर्न विज्ञप्तिमा माग गरिएको छ । मेयर जिसीलाई सुशासन र पारदर्शिताको पाठ सिक्न दलका सचेतक लामिछानेले चेतावनी समेत दिएका छन् । होडिङ बोर्ड व्यवस्थापनका लागि पोखरा १० का वडाध्यक्ष राजकुमार गुरुङको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदन लत्याएर निर्णय भएको नेपाली कांग्रेसबाट पोखरा महानगरमा निर्वाचित वडाध्यक्षको दावी छ ।