पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रहरी र विद्यार्थीबीच झडप

पोखरा, माघ १६ ।
पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रहरी र विद्यार्थीबीच झडप भएको छ । नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यक्रम अन्तर्गत बुधबार साँझ मसाल जुलुस निकालेको थियो । मसाल जुलुस निकाल्न लाग्दा प्रहरीले क्याम्पस गेटमै पुगेर हस्तक्षेप गरेको नेविसंघ कास्कीका निवर्तमान अध्यक्ष विकास थापाले बताए ।

प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थीले ढुंगामुढा गरेका थिए । प्रहरीले चाहीँ अश्रुग्याँस प्रहार गरेको थियो । झडपमा परि नेविसंघका ४ जना घाईते भएका छन् । गोविन्द नेपाली, राज आचार्य, अमृत पौडेल, भरत पोखरेल अञ्जान घाइते भएको नेविसंघले जनाएको छ । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।

कास्की प्रहरीले चाहीँ प्रहरीले कुनैपनि हस्तक्षेप नगरेको बताएको छ । कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले विद्यार्थीले नै ढुंगामुढा गरेको तर प्रहरीले कुनै प्रतिकार नगरेको बताए । घटना सामान्य रहेको उनको भनाई छ । मसाल जुलुस निकालेपछि कोणसभा गरेर कार्यक्रम सकिएको छ ।