पोखराको पिएन क्याम्पसमा नेविसंघ र प्रहरीबीच फेरि झडप, ४ जना घाईते

पोखरा, माघ २० ।
थुनामा रहेका आफ्ना साथीको रिहाईको माग गर्दै नेविसंघ कास्कीले आइतबार पिएन क्याम्पसमा मसाल जुलुस निकाल्यो । जुलुस निकाल्दै गर्दा प्रहरीले हस्तक्षेप गरेको भन्दै विद्यार्थी प्रहरीमाथी जाईलागे । दोहोरो झडप हुँदा नेविसंघका २ जना र २ प्रहरी घाईते भएका छन् ।

नेपाली काँग्रेसले सोमबार गर्न लागेको देशब्यापी विरोध कार्यक्रमको समर्थन र आफ्ना साथीको रिहाईको माग गर्दै उनीहरुले जुलुस निकालेका हुन् । घाईते हुनेमा पशुपति भट्टराई र फिरोज सुवेदी छन् । उनीहरुको फिस्टेल अस्पतालमा उपचार भैरहेको छ ।

मसाल जुलुस निकाल्दा प्रहरीले गेटभित्रै पसेर आक्रमण गरेको विद्यार्थीहरुको आरोप छ । प्रहरीले चाहीँ विद्यार्थीले ढुंगामुढा गर्न लाग्दा प्रतिकार गरेको बताएको छ । प्रहरीको तर्फबाट घाईते भएकाको पनि उपचार भैहरेको छ । नाम भने प्रहरीले खुलाउन चाहेन । उनीहरुको अवस्था सामान्य छ ।

सरकारको पछिल्ला गतिविधि लोकतन्त्र विरोधी भएको आरोप लगाउँदै नेविसंघ निरन्तर आन्दोलनमा छ । नेविसंघ कास्कीका निवर्तमान अध्यक्ष विकास थापाले प्रहरी हस्तक्षेप निन्दनीय भएको बताए ।

कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले चाहीँ विद्यार्थीले ढुंगामुढा गरेकै कारण प्रहरीले सामान्य प्रतिवाद गरेको बताएका छन् । विद्यार्थी र प्रहरीबीच लामो समय पिएन क्याम्पस गेटमा ढुंगा हानाहान भएको थियो ।