पोखराका फराकीलो सडक झनै असुरक्षित !

पोखरा, भदौ ५ ।
‘पोखराको सबैभन्दा राम्रो र ब्यबस्थित यो बाटो पछिल्लो क्रममा धेरै दुर्घटना (ज्याननै जानेगरी) हुने क्षेत्र बनेको छ । दुर्घटना कारण जिरो किमी देखी बिन्ध्यवासिनी क्षेत्र सम्मका बासिन्दा आतंकित छन् । सिधै आउने गाडीहरुको ओभर स्पिड र शाखा बाटोहरुबाट आउने गाडीहरुले दायाँ बाँया नहेरी मुल बाटोमा प्रबेश गर्नु दुर्घटनाका प्रमुख कारण हुन् ।’ पत्रकार त्रिभुवन पौडेलले भिडियो सहित पोखराको जीरो किलोमिटरदेखि विन्ध्यावासिनीसम्मको फराकीलो सडकको दुर्दशा देखाए ।

दुई महिना अघि मालेपाटनमा मोटरसाईकल नै ट्यांकरभित्र पस्यो । दुईजनाको मृत्यु भयो । १५ दिनअघि दुईवटा मोटरसाईकल मालेपाटनमै ठोकियो र दुईजना घाईते भए । ८ महिनाअघि दुईवटा मोटरसाईकल ठोकिँदा गम्भीर घाईतेको अहिलेसम्म उपचार भैरहेको छ । ठ्याक्कै १ महिनआघि मोटरसाईकल र ट्याक्सी ठोकिँदा १ जना घाईते भए ।पस्र्याङमा ८ महिनाअघि ट्रकसँग ठोकिएर मोटरसाईकल चालक घाईते भए । ६ महिनाअघि रोकिराखेको बसमा ठोकिँदा स्कुटर चालकको मृत्यु भयो । अर्चलबोटमा ९ महिनाअघि गाडीको ठक्करले एकजना पैदलयात्री गम्भीर घाईते भएर उपचाररत छन् । १ बर्षअघि बसले स्कुटरलाई ठक्कर दिँदा दुईजना विद्यार्थी घाईते भए ।

तीनवटै क्षेत्र जीरो–विन्ध्यावासीनी सडक खण्डमा पर्छन् । पोखराको अत्यधिक दुर्घटना हुने क्षेत्रमध्ये यो पहिलो नम्बरमा छ । स्थानीय भन्छन्–सामान्य दुर्घटना नभएको दिन छैन । ‘औषत २/३ वटा घटना भैरहेको छ । कहिलेकाहीँ त ४/५ वटा दुर्घटना पनि हुन्छ, वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीले भने–एकैदिन ठूला दुर्घटना पनि हुन्छन् ।’

दुर्घटना न्यूनिकरणका लागि पनि केही कामहरु सुरु गर्न लागेको उनले सुनाए । मापसे अनुगमन र स्पीड कन्ट्रोलका लागि बिशेष कार्यक्रम सञ्चालन हुने नेपालीको भनाई छ ।  यो सडकमा पछिल्लो समय निकै धेरै दुर्घटना हुन्छ । विशेषगरी तीब्र गरी र ट्राफिक नियमको पालना नगर्दा दर्घटना बढ्ने गरेको प्रहरी बताउँछ ।

Photo-Sudarshan Ranjit