पोखराका पोलमा मनपरी तार झुण्ड्याउन नपाईने, महानगरले फाल्यो तारका गुजुल्टा

पोखरा, मंसिर २९ ।
पोखरा महानगरपालिकाले गुजुल्टा पारेर टाँगिएका र अब्यवस्थित तारहरु हटाउने अभियान सुरु गरेको छ । यसअघि वडा नम्बर ४ ले थालेको अभियानलाई नै निरन्तरता दिँदै महानगरले नगरभरिका तार हटाउन लागेको हो । सुरुमा वडा नम्बर ४ का अध्यक्ष शंकर बास्तोलाले गणेशटोलदेखि पालिखेचोकसम्मका पोलमा टाँगिएका अब्यवस्थित तार काटे सफा बनाएका थिए ।

महानगरले सिद्धार्थचोकबाट विहिबारदेखि सोही अभियान थालेको हो । अब्यबस्थित ढंगले विभिन्न पोलमा राखिएका तारहरु हटाउन समिति नै गठन गरिएको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखराको सिद्धार्थचोकमा अव्यबस्थित तार काटेर अभियानको सुरु गरे ।

पोखराको सौन्दर्यता र सुरक्षाको दृष्टिलाई मध्यनजर गर्दै महानगरले पहिलो चरणमा पोखराका मुख्य चोकका पोलहरुबाट अब्यवस्थित तार हटाउने र यसलाई विस्तारै नगरभरी अभियान चलाईने जिसीले बताए ।

अब्यबस्थित तार हटाउने अभियानमा नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायक संस्था, केबल व्यवसायी लगायतका सेवा प्रदायक संस्थाहरुलाई सँगसँगै लिएर अघि बढेकोे महानगर मेयर जिसीले बताए । यसअघि महानगरले सुचना प्रकाशन गरेर सरोकार निकायसंग छलफल गरि महानगरभित्रका अव्यवस्थित तार हटाएर व्यवस्थित गर्ने निर्णय गरेको हो ।

तार हटाएसंगै सरोकार पक्षसंग सहकार्यमा महानगरले केही समय पछि आकाश माथि हुने तारलाई जमिनमुनि (अण्डरग्राउण्डमा) व्यबस्थापन गर्ने तयारी गरिरहेको छ । महानगरले महानगरका उपसचिव तथा सुचना अधिकारी गंगालाल सुवेदीको संयोजकत्वमा तार ब्यवस्थपान सहजीकरण समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा नेपाल टेलिकमका शेषकान्त बस्याल, नेपाल विद्युत प्राधिकरणका इन्जिनियर आनन्द सापकोटा, एनसेलका सुवोध रेग्मी, वाराही ईन्टरनेटका सुरेन्द्र बहादुर थापा, जेनिक्टका सोमराज गुरुङ, टेलनेट प्रा.लिका बिनोद हुगाई, पोखरा केवलका मनोज गुरुङ्ग, पोखरा ईन्टरनेटका अजित तामाङ, वल्र्डलिकं कम्यूनिकेसनका विनोद के.सी., महानगरका नगर प्रहरीका असई पुरुषोत्तम थापा, पोखरा महानगरपालिकाका सूचना प्रविधि अधिकृत ईञ्जिनियर अशोक द्वारे रहेका छन् ।

वडा नम्बर ४ का अध्यक्ष बास्तोलाले चाहीँ आफैले थालेको अभियानमा महानगरले बाईपास गरेको आरोप लगाएका छन् । ‘महानगरले मेरै वडाबाट अभियान थालेछ खुशी लाग्यो । अभियानको शुभकाना छ, उनले भने–तर राजनीतिक प्रतिशोध राखेर मैले नै थालेको अभियानमा मलाई जानकारी गराईएन । दुख लागेको छ ।’