पूर्व राजा ज्ञानेन्द्र १६ दिन पोखरा बस्ने-रिसोर्टको २४ कोठा बुकिङ, एउटै कोठाको १२ हजार

पोखरा, पुस ३ ।
सोमबार पोखरा आईपुगेका पूर्व राजा ज्ञानेन्द्र शाहको परिवार भर्खरै निर्माण भएको दोविल्लास्थित माउन्टेन ग्लोरी रिसोर्टमा बसेका छन् । धर्मपत्नी कोमलसँगै बुद्ध एयरबाट पोखरा झरेपछि उनी सीधै रिसोर्ट पुगेका हुन् ।

राजपरिवारका अन्य सदस्यहरु केही दिनमा पोखरा आउने कार्यक्रम छ । राजपरिवार बस्ने रिसोर्टमा हाल २४ कोठा छ । रिसोर्टमा रहेका सबै कोठाहरु राजपरिवारले बुकिङ गरिसकेको श्रोतले बतायो ।

रिसोर्टका २ वटा सुइट र २२ वटा डिलक्स कोठा शाह परिवारले बुकिङ गरेको छ । श्रोतका अनुसार सोमबारदेखि सुरु हुनेगरि १६ रातका लागि सबै कोठा बुकिङ गरिएको हो ।

एउटा कोठाको अहिले नेपाली नागरिकका लागि प्रतिरात १२ हजार रुपैयाँ पर्छ । विदेशी नागरिकले भने १ सय ९० अमेरिकी डलर तिर्नुपर्छ ।