पुष्पा केसीको शव एक सातापछि परिवारले बुझे

पोखरा, भदौ १४ ।
गत शुक्रवार पोखराको लामाचौरमा मृत भेटिएकी १३ वर्षीया बालिका पुष्पा केसीको शव एक सातापछि परिवारले बुझेको छ । पुष्पाको हत्या भएको भन्दै अनुसन्धानको माग गरिरहेका आफन्तले प्रशासनसँगको सहमतिमा बिहीवार शव बुझेका हुन् ।

विन्ध्यवासिनी माविमा कक्षा ६ मा अध्ययनरत पुष्पा केसी बिहीबार (भदौ ७ गते) साँझ ५ बजे तरकारी किन्न भनेर निस्किएकी पुष्पा शुक्रवार साँझ मृत भेटिएकी थिइन् । शनिवार गरिएको पोष्टमार्टम रिपोर्टमा पुष्पाको टाउकोमा गम्भीर चोट लागेको देखिएको थियो ।

पोखरामा घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने माग गर्दै विधार्थी संगठन, आफन्त, स्थानीयले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन सहित चोकचोकमा नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

बिहीवार जिल्ला प्रशासन कार्यालय कास्कीले घटनाको अनुसन्धान जारी राख्ने र यथासिघ्र दोषीलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएपछि आफन्तले शव बुझेका हुन् । केसीको दाहसंस्कार समेत भैसकेको छ ।