पारसलाई भेट्न किन आएनन् ज्ञानेन्द्र र हिमानी ?

काठमाण्डौं, माघ १८ ।
पूर्वयुवराज पारस शाह ५ दिनदेखि गम्भीर अवस्थामा नर्भिक हस्पिटलमा उपचाररत छन् । तेस्रोपटक हृदयघात भएपछि अस्पताल भर्ना भएका उनलाई एन्जियोप्लास्टी तथा स्टेन्ट प्रत्यारोपण गरिएको छ । डाक्टरहरुले उनी अझै खतरामुक्त नभइसकेको बताइरहेका छन् । पारस अस्पतालमा उपचाररत रहँदा उनका बुबाआमा र पत्नी साथमा छैनन् ।

पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल गत आइतबार मात्र एक महिने भ्रमणका लागि सिमरा पुगेका थिए । पत्नी हिमानी भने थाइल्यान्डमा छिन् । छोरा बिरामी भएको खबर सुनेपछि पूर्वरानी कोमल सोमबार रातारात गाडीबाटै काठमाडौं आइन् तर, पूर्वराजा भने आएनन् ।

तेस्रोपटक हृदयघात हुनु खतरनाक अवस्था हो । यस्तोमा ज्यान जोगिने सम्भावना निकै न्यून हुने चिकित्सकहरु बताउँछन् । यसपालि पारसको मुटुका दुबै भल्व बन्द भएकाले जटिल अवस्था थियो ।

तर, उनी भाग्यमानी सावित भए । लगभग माया मारिसकेको अवस्थाबाट उनलाई प्राडा. यादवदेव भट्टको टोलीले बचायो । अहिले उनको अवस्था सुधारोन्मुख त छ तर ७२ घन्टासम्म केही भन्न नसकिने डा. भट्टले बताएका छन् ।

छोरा यसरी मृत्युसँग लडिरहँदा हवाई मार्गबाट आधा घन्टाको दुरीमा रहेका बाबु ज्ञानेन्द्रले अस्पताल आउने जाँगर चलाएनन् । पूर्वरानी कोमल पनि छोरालाई सोमबार राति भेटेर भोलिपल्टै जहाज चढेर सिमरा फर्किसकेकी छन् ।

पारसलाई अस्पतालमा छोरा हृदयन्द्र, बहिनीहरु प्रेरणा, शीताष्मा, दिलाशा, पूजा, ज्वाईं राजीव शाही लगायतले हेरचाह गरिरहेका छन् । राजनीतिक दलका शीर्ष नेता तथा सरकारका उच्च ओहदाका व्यक्तिहरु पारसलाई भेट्न गएका छैनन् । राजावादी नेताहरु कमल थापा र पशुपतिसमशेर जबराले भने उनलाई भेटेका छन् ।

पारस अझै केही दिन अस्पताल बस्नुपर्ने चिकित्सकहरुको भनाइ छ । उनको मुटु जीर्ण अवस्थामा पुगिसकेकाले स्वास्थ्यमा निकै सतर्कता अपनाउनुपर्ने छ । पारस अहिले बोल्न सक्ने अवस्थामा छन् । यसपटक हृदयाघात हुँदा उनी बेहोस नभएको डाक्टरहरुको भनाइ छ ।