पर्वतीय संग्राहलयमा पर्यटनमन्त्री र सचिवको ठाडो निर्देशनमा कर्मचारी भर्ति, आफन्त भर्ति गरेको भन्दै विरोध

पोखरा, पुस १० ।
पोखराको रातोपैह्रामा रहेको पर्वतीय संग्राहलयमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ठाडो निर्देशनमा कर्मचारी भर्ति गरिएको छ । अधिकारीकै निर्देशनमा आवश्यक नभएका दुई कर्मचारीलाई नियुक्ति दिईएको बताईएको छ ।

अघिल्लो बर्ष पत्रिकामा सूचना आएपछि रचना कुवँरले आवेदन दिईन् । सबै परीक्षा पास गरेपछि उनको नाम निस्कियो । ६ महिनासम्म काम गरिन् । त्यसपछि स्थायीको प्रक्रिया सुरु गर्न निवेदन बुझाईन् । संग्राहलयमा टिकट सेलरको रुपमा काम गरिरहेकी उनलाई स्थायी गर्नुपर्नेमा उल्टै जागिरबाट निकालियो ।

‘मैले त स्थायीको लागि निवेदन दिएको थिएँ । तर ३ महिनासम्म पेण्डिङ राखेर मलाई जागिरबाटै हटाईयो, रचनाले भनिन्–मलाई चाहीँ स्टाफ धेरै भयो भनेर निकालिएको हो ।’ उनले जागिर खाँदा आङछिरिङ शेर्पा नेपाल पर्वतारोहण संघको अध्यक्ष थिए । जागिर सुरु गरेको दुई महिना नहुँदै संघको नेतृत्व फेरियो र सन्तविर लामा अध्यक्ष बनेर आए ।

राजनीतिक रंग देखाएर रचनालाई जागिरबाट निकालिएको आरोप लागेको छ । त्यतिमात्रै होईन पहिले कर्मचारी बढी भयो भनेर निकालिएको ठाउँमा अहिले विना सूचना नियम विपरित ३ जना कर्मचारी भर्ना गरिएको छ ।

संग्राहलयमा टिकट चेकर पदमा अप्सरा पौडेल र टिकट सेलरमा विष्णुमाया देवकोटालाई नियुक्त गरिएको हो । श्रोतका अनुसार उनी पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाकी बहिनी हुन् ।

नयाँ कर्मचारी थपेपछि कर्मचारी संख्या पनि अनावश्यक भैसकेको संग्राहलयकै ब्यवस्थापक पक्ष बताउँछ । दुई जना कर्मचारी रहेको सेलर पदमा एक जनाले मात्र काम भ्याउँदै आएपनि अहिले मन्त्री रवीन्द्र अधिकारीले कर्मचारी थप गरेर ३ जना पुर्याएका छन् ।

‘आसेपासेलाई जागिर खुवाउन आवश्यक नभएका कर्मचारी भर्ना गरिएको छ । त्यो पनि नियम पालना गरिएकै छैन, संग्राहलयका एक कर्मचारीले भने–सार्वजनिक रुपमा सूचना निकालेर कर्मचारीको आवेदन माग्नुपर्ने हो । तर मन्त्री ज्यू र पर्यटनक सचिव ज्यूको ठाडो निर्देशनमा कर्मचारी भर्ना भएका छन् ।’

नियुक्ती पत्र नै नलिई उनीहरुले जागिर खाईरहेका थिए । ‘अप्सरा पौडेल कार्तिकदेखि जागिरमा आएकी हुन् । उनीसँग नियुक्ती पत्र नै थिएन, श्रोतले भन्यो–डिसेम्बर महिनाको १३ तारिखमा मात्रै नियुक्ती पत्र आएको छ । सत्तामा पुगेपछि त जसले जे गरेपनि हुने रहेछ ।’

यसबारे बुझ्न खोज्दा पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा बोल्न चाहेनन् । ‘संग्राहलय स्वतन्त्र निकाय भएकोले बोल्न मिल्दैन । मैले कुनै निर्देशन दिएको छैन, तपाईंका मान्छे राख्नुभएछ नि भन्ने प्रश्नमा उनले भने–मैले फोन राखें । सकभर समाचार नलेखिदिनुस् ।’

पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई चाहीँ सम्पर्कमा आएनन् । पटक पटक फोन गर्दा पनि बैठकमा भएको भन्दै उनको सचिवालबाट उत्तर आयो । ‘मन्त्री ज्यू बैठकमा हुनुहुन्छ । म बाहिर निस्किएपछि फोन गर्न भनिदिउँला, सचिवालयका एक कर्मचारीले फोनबाट भने ।’ तर अधिकारीको फोन भने फिर्ता आएन । संघका अध्यक्ष सन्तविर लामा चाहीँ देश बाहिर भएकोले सम्पर्क हुन सकेन ।